अत्यावश्यकबाहेकका सरकारी तथा निजी कार्यालयहरु चैत ९ देखि २१ गतेसम्म बन्द

Posted by

शुक्रबार, ७ चैत, २०७६ । सरकारले यही चैत ९ गतेदेखि अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि २१ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सरकारी तथा निजी कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

यस्तै, आगामी १० गतेदेखि केही अवधिका लागि लामो दूरीका यातायात बन्द गर्ने तथा चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रधानमन्त्रीले अत्यावश्यक सेवाका सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूलाई यथावतरूपमा आ–आफ्नो कार्यालयमा उपस्थित भइ नियमित कामकाज गर्नसमेत आग्रह गरेका छन् ।

यस्तै, सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारी–साधनहरू आवश्यकताअनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले दैनिक उपभोग्य वस्तुको अनावश्यक सञ्चय नगर्न आग्रह गर्दै अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने र खाद्यवस्तुमा मिसावट गर्नेहरुलाई प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

यस्तै, सीमानाकाहरुबाट नेपाल प्रवेश गर्नेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको भन्दै प्रधानमन्त्री ओलीले संक्रमणविरुद्ध लड्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

देशले यति बेला उच्च इच्छाशक्ति र परस्पर सहयोगको अपेक्षा गरेको भन्दै सबै देशवासीलाई सचेतरुपमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

सार्क विपद् कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने निर्णयसमेत गरेको छ ।