अध्यक्ष प्रचण्डको चेतावनी : ‘जनता भड्काउने छुट कसैलाई छैन’

Posted by

काठमाडौं, १४ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भड्काउने छुट कसैलाई नभएको बताउनु भएको छ ।

अध्यक्ष दाहालले गन्तव्य नेपालद्धारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मुलुकको इतिहास र प्रकृतिले दिएका सम्पदाको सदुपयोग गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो । मुलुकको प्रकृति, विविधता र त्यसभित्रको शान्दार एकता मुलुकको समृद्धिका लागि अति उपयोगी रहेको उहाँको भनाई छ । उहाँले विकास निर्माणको कामलाई छिटोभन्दा छिटो गति दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अध्यक्ष दाहालले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको स्पष्ट पार्नुभयो । उहाँले गौतम बुद्धको नेपाली भूमिलाई समृद्ध बनाउन पर्यटन प्रवर्द्धन गरेर अघि बढने योजना अघि सार्नुभयो ।