अफ्रिका अबको इपिसेन्टर बन्ने र तीन लाखसम्म मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

Posted by

एजेन्सी, शनिबार बैशाख ६ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी दिएको छ ।

यो महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख व्यक्तिको मृत्यु हुनसक्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुको आशंका छ । उक्त क्षेत्रका तीन करोड मानिस कोरोना कै कारण गरीबीको रेखामुनि पुग्ने अनुमान पनि राष्ट्रसंघको छ ।

कोभिड–१९ बाट अफ्रिकामा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १९ हजारभन्दा बढीमा संक्रमित छन् । तर अहिलेसम्मको संक्रमण दर भने युरोप र अमेरिकामा भन्दा कम रहेको बताइएको छ ।

राष्ट्रसंघीय अफ्रिकी आर्थिक कमिसनले तीन लाख व्यक्तिको मृत्यु हुन सक्ने चेतावनी दिँदै महामारी नियन्त्रणका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ ।

संक्रमण अफ्रिकाका राजधानीभन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको र यस्तो भए अवस्था भयावह हुने डब्लुएचओको चेतावनी छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेको जनाइएको छ ।

अफ्रिकाका एक तिहाई मानिस पानीको पर्याप्त पहुँचमा छैनन् भने शहरी क्षेत्रका करिब ६० प्रतिशत मानिस घना सुकुम्बासी क्षेत्रमा बस्छन् ।

एक अर्ब ३० करोड मानिस बस्ने अफ्रिकाको उत्तरी क्षेत्र बढी प्रभावित छ । अल्जेरिया, इजिप्ट र मोरक्कोमा दुई हजार भन्दा बढी संक्रमित छन् । यद्यपि, धेरै देशले लकडाउन गरेका छन् ।