अमेरिकी राष्ट्रपतिमा जो बाइडन विजयी, पहिलो महिला उपराष्ट्रपति कमला ह्यारिस बन्न सफल

Posted by

२३ कार्तिक २०७७, आईतवार-


अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी हुनुभएको छ । यो विजयसँगै उहाँ अमेरिकाको ४६ औं राष्ट्रपति बन्नुभएको छ ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भए पनि मत गणनाको पछिल्लो रिपोर्टहरुमा उहाँ विजयी हुनुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई हराउँदै उहाँले राष्ट्रपति भवन ह्वाइट हाउसको यात्रा सुनिश्चित गर्नुभएको हो ।

अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै बाइडनले जीत निकाल्नु भएको हो ।

फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २९० इलोक्टोरल मत पुगिसकेको छ । जबकी ट्रम्पका पक्षमा २१४ मत मात्र रहेको छ ।

बाइडनको जीतको घोषणा भइरहँदा त्यही पराजय ब्यहोर्नुभएका वर्तमान राष्ट्रपति ट्रम्पले भने कानूनी संघर्षमा जाने बताउनुभएको छ ।

अघिल्लो निर्वाचनमा ट्रम्पले जित्नुभएको एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै बाइडन राष्ट्रपति कार्यालय ह्वाइट हाउसको यात्रा निश्चित गर्नुभएको हो ।

अमेरिकी निवौचन प्रणालीअनुसार राष्ट्रपतिमा निर्वाचित हुन ५३८ मध्ये २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

अमेरिकाको पहिलो उपराष्ट्रपति बन्न सफल कमला ह्यारिस

us vice president kamala

अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याट उम्मेदवार जो बाइडनको विजयसँग अमेरिकी इतिहासमा पहिलो पटक महिला उम्मेदवार पनि विजयी हुनुभएको छ ।

डेमोक्र्याट पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बन्नुभएका कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

भारतीय आमा र जमैकन बाबुकी सन्तानका रूपमा क्यालिफोर्नियामा जन्मिनुभएका कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएर इतिहास रच्नुभएको हो ।

कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एशियन अमेरिकन हुनुहुन्छ ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसक्नु भएका उहाँ देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्नुभएको थियो ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिला मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेकामा कमला ह्वाइट हाउस पुग्न सफल हुनुभएको हो ।

सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो पनि उम्मेदवार बन्नुभएको थियो ।

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिनु भएकी ५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिनु भएको थियो ।

उहाँ अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको हो ।

कमला ह्यारिसको पनि बाइडेनको जस्तै राष्ट्रपति बन्ने सपना छ । यसपालि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा उहाँ पनि बाइडेनसँगै प्रतिस्पर्धा गर्नुभएको थियो ।

७७ वर्षीय बाइडेन दोस्रो कार्यकालका लागि नउठ्न सक्ने अनुमान भएकाले कमलालाई आगामी राष्ट्रपतिको उम्मेदवार बन्न विजयी भएमा अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्न सक्ने बाटो पनि योसँगै खुलेको छ ।