अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश, आज पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

Posted by

  • बुधबार, ११ आषाढ, २०७६

काठमाडौं । साविक विजेता अष्ट्रेलिया इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लण्डनको लर्ड्स क्रिकेट मैदानमा गएराती सम्पन्न खेलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले आयोजक इंग्ल्याण्डलाई ६४ रनले हरायो ।

जितसँगै अष्ट्रेलिया समुह चरणमा दुई खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका लागि आरोन फिन्चले सय रन जोड्दा डेभिड वार्नरले ५३ रन बनाए ।

जवाफमा २ सय ८५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुनुपूर्व २ सय २१ रन मात्रै जोड्न सक्यो । इंग्ल्याण्डका बेन स्टोक्सले ८९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

इंग्ल्याण्डलाई सस्तैमा रोक्न अष्ट्रेलियाका जेसन बेहेरेनडर्फले ५ विकेट लिंदा मिचेल स्टार्कले ४ विकेट झारे ।

जितसँगै अष्ट्रेलिया जारी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो । उसले ७ खेलबाट १२ अंक जोडेको छ ।

पराजित इंग्ल्याण्डको ७ खेलबाट ८ अंक छ । उसको पनि सेमिफाईनल पुग्ने संभावना जिवित छ ।

विश्वकप क्रिकेटमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्नेछन् ।

६ खेलबाट ११ अंक जोडेको न्युजिल्याण्ड तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट ५ अंक जोडेको पाकिस्तान सातौं स्थानमा रहेको छ ।

शिर्ष चारभित्र परेर सेमिफाइनल प्रवेशको संभावना जिवित राख्न पाकिस्तानलाई आजको खेल जित्नैपर्ने दबाब छ ।