आजदेखि चितवनमा राष्ट्रपति रनिङ शिल्ड सुरु

Posted by

चितवन, २३ असार ।

आजदेखि चितवनमा ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिका बाहेक अन्य ६ वटा स्थानीय तह प्रतियोगितामा सहभागी भएका छन् ।
भरतपुर महानगरपालिकाले नगरस्तरीय छनौट प्रतियोगिता नगराएका कारण यहाँका एक सय १० वटा विद्यालयका खेलाडी राष्ट्रपति रनिङ शिल्ड खेल्नबाट बञ्चित भएका हुन् ।
राप्ती, खैरहनी, रत्ननगर, कालिका, माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकाबाट करिब पाँच सय जना खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
४८ स्वर्णका लागि प्रतिस्पर्धा
आज र भोलि भरतपुरको गेष्ट हाउस चौरमा हुने ११औँ राष्ट्रपति रनिङ शिल्डमा ४८ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । एथलेटिक्स तर्फ २६ स्वर्ण, मार्सल आर्टस् तर्फ १८ स्वर्ण, भलिबल तर्फ दुई स्वर्ण र कबड्डी तर्फ दुई वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । सबै विधामा महिला र पुरुषको छुट्टा छुट्टै प्रतिस्पर्धा भइरहेको छ ।
एथलेटिक्स तर्फ ट्याक विधा अन्तर्गत एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर र तीन हजार मिटरको दौड, चार सय मिटर र हजार मिटरको रिले दौड हुनेछ । त्यस्तै, फिल्ड इभेन्ट तर्फ थ्रोइङ विधामा सर्टपुट, ज्याब्लिङ थ्रो हुनेछ भने जम्पिङ विधामा हाई जम्प, लङ जम्प र ट्रिपल जम्प हुनेछ । त्यस्तै मार्फल आर्टस् तर्फ तेक्वान्दो, उसु र कराँतेको प्रतिस्पर्धा हुनेछ । प्रत्येक विधामा महिला र पुरुष गरी पुरस्कार प्रदान गरिने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।
जिल्लाबाट छनौट भएका उत्कृष्ट खेलाडीहरुले असार २६ र २७ गते काठमाडौँमा प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने लामाले बताए । प्रदेशबाट छनौट भएका खेलाडीहरुले असार २९ देखि ३१ सम्म काठमाडौँमा नै हुने राष्ट्रिय प्रतियोगितामा भाग लिने लामाको भनाइ छ ।
जिल्लामा उत्कृष्ट भएको विद्यालयले नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए । ढकालका अनुसार पहिलो हुने विद्यालयले १५ हजार, दोस्रो हुने विद्यालयले १२ हजार तथा तेस्रो हुने विद्यालयले नौ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।