आज पृथ्वीजयन्ती तथा एकता दिवस मनाइँदै , केहि स्थानिय तहमा मात्रै सार्वजनिक विदा

Posted by



२०७६, २७ पुष आईतवार  । नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए ।
सात महिनामा उनको जन्म भएको थियो । पृथ्वी नारारायण शाहले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए। विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित भएक थिए । १८०१ मा नुवाकोटमा विजयी भए। यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए ।

विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए । शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।

नेपालको भौगोलिक एकीकरण गरेर महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौति गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।

झापाका हल्दीबारी र कचनकवलमा सार्वजनिक बिदा
झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन्। हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएका हुन् ।

नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए।

‘सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ। राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो,’ उनले भने।
झापाकै कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए।