आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्री द्धरा शुभकामना

Posted by

फागुन ७, २०७६ बुधबार – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदैछ ।

एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।

यस्तै नेपाली सेनाको हेलिकाेप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । 

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले देशको आर्थिक–सामाजिक रुपान्तरण नेपाली नागरिकको चाहना भएको र नागरिकका ती चाहना सम्बोधन गर्न याे दिनले प्रेरित गर्ने बताउनुभएको छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याएका छन्। प्रजातन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उपराष्ट्रपति पुनको विश्वास छ। 


यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको समृद्धि र नागरिकको सुख हासिल गर्ने अभियानमा एकजुट भइ योगदान गर्न सबैसँग आग्रह गर्नुभएको हो ।