आज संविधान दिवस विविध कार्यक्रम गरेर देशभर मनाइँदै

Posted by

असोज ३, २०७६ काठमाडौं : 

आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्यो। संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो।  संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन। प्रधानमन्त्ती केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ।  त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न  र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ। 

संविधान दिवसमा राष्ट्रपतिको शुभकामना


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताउनुभएको छ । 

संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गर्नुभएको छ । तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।

unn.prixa.net

संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गर्नुभएको छ ।