आज साउनको पहिलो सोमबार, देवघाटधाममा बिहानैदेखि भक्तजनको भीड

Posted by

चितवन, ६ श्रावण २०७६, सोमबार : साउनको पहिलो सोमबार आज देवघाटधाममा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष साउनमा चार ओटा सोमबार परेको छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालकै पवित्र तीर्थस्थल देवघाटमा पनि सोमबारे बोलओम मेला सुरु भएको छ । आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको बिहानैदेखि पूजाआजामा भीड देखिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

नेपालका विभिन्न जिल्लासहित विशेषगरी भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्छ । आएर शिवलाई जल चढाए पुण्य हुने र मनोकामना पूरा हुने विश्वास छ ।

बोलबम बोलबम भन्दै भक्तालु पहेँलो बस्त्र लगाएर खाली खुट्टामा देवघाट आउने गर्दैछन् ।  देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।