आज साउन १५ अर्थात खिर खाने दिन

Posted by

साउन १५, आज साउन १५ । अर्थात खिर खाने दिन । आज नेपालीहरुले रोपाई सकिएको अुशियालीमा विश्राम लिदै खिर पकाएर खाने गर्छन । दूधभात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोगडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे, वर्तमानमा महत्वका साथ बनाईने गरिन्छ । यो खिर नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । सालको वा भोर्लाको ठुलाठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया टपरी, दूनामा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद फरक हुन्छ ।

मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध रहदै आएको छ । यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण रही यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो ।

सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ । त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आयुर्वेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ ।