आणविक निरस्त्रीकरण’ प्रतिबद्धता पूरा गर्न उत्तर कोरियासँग आग्रह

Posted by

साउन २१, २०७५
दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरूले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्। सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च (एआरएफ) का विदेश मन्त्रीहरूको सम्मेलनपश्चात् सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी दिगो शान्ति र स्थायित्व ल्याउन सबै सम्बद्ध पक्षले निरन्तर कार्य गर्नु पर्दछ।’ ‘विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आफ्नो आणविक निःशस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न एवं थप आणविक र क्षेप्यास्त्र परीक्षणका कार्य नगर्न आग्रह गरेका छन्,’ विज्ञप्तिमा थप भनिएको छ। वक्तव्यमा मन्त्रीहरूले अप्रिल र मे महिनामा दुई कोरियाको सीमावर्ती पानमुनजोङमा उत्तर र दक्षिण कोरियाका नेताहरुको शिखर बैठक तथा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाली नेता कीम जोङ उनबीच भएको शिखर बैठकको स्वागत गरेका छन्। ती शिखर सम्मेलनमा उत्तर कोरियाली नेता कीमले कोरियाली द्वीपमा पूर्ण आणविक निरस्त्रीकरणप्रति प्रतिबद्धता जनाएका थिए। यसलाई घटनालाई सकारात्मक सन्देशका रूपमा लिइएको थियो, तर त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्नेमा स्पष्ट थिएन। मानवीय सरोकार समेतका कतिपय विषयमा उत्तर कोरियालाई मद्दत गर्न केही राष्ट्रका विदेश मन्त्रीहरुले तत्परता पनि देखाएको विज्ञप्तिमा उल्लेख छ।