आफ्नो सम्पूर्ण तलबभत्ता समाजसेवामा खर्च गर्ने वडाध्यक्षको घोषणा

Posted by

भदौ ४,धनुषा –
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफूले पाउने सम्पूर्ण तलब भत्ता समाजसेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ ।सोमबार बिहान पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सिंहले निर्वाचित भएको दश महिनामा आफूले पाएको तलब पहिलो चरणमा सडक मर्मतमा खर्च गर्ने घोषणा गर्नुभएको हो ।गएको १० महिनमा तलबबापत पाएको २ लाख ५० हजार र भत्ताबापत पाएको ४५ हजार गरी जम्मा २ लाख ९५ हजार वडा भित्र पर्ने सडकको खाल्डाखुल्डी पुर्ने बताउनुभयो ।वडामा पर्ने २४ वटा सडक मध्ये जीर्ण एवं खाल्डाखुल्डी रहेको सडकमा तत्काल मर्मत गर्ने वडाध्यक्ष सिंहको भनाई छ ।‘जनकपुर उपमहानगरपालिकाका २५ वटा वडामध्ये सबभन्दा बढी जनसंख्या भएको यो वडा हो । र वडाध्यक्षमा जनताले मलाई सबैभन्दा बढी मतले जिताएका छन्’, वडाध्यक्ष सिंहले भन्नुभयो, ‘त्यति बेला नै मैले आफ्नो सम्पूर्ण तलबभत्ता समाजमै खर्च गर्ने निधो गरेको थिएँ । बल्ल १० महिनापछि तलबभत्ता पाएको छु । र अब खर्च गर्छु भनेर सार्वजनिक गरेँ ।’ उहाँले अब पाउने तलबभत्ता समाजमा रहेका वृद्धवृद्धाहरुलगायत समाजकै उत्थानमा खर्न बताउनुभयो ।