इटहरीका मेयर चौधरीविरुद्ध उत्रिए प्रतिपक्ष दलका सांसद

Posted by

  • बिहीबार, २३ जेष्ठ, २०७६

काठमाडौं, जेठ २३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले पत्रकारलाई भौतिक आक्रमणको धम्की दिने इटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरु सुजाता परियार र हिरा गुरुङले कानुन हातमा लिन खोज्ने मेयर चौधरीलाई फौजदारी अपराधअन्र्तगत् मुद्दा चलाउन माग गरे ।

सांसद मीना सुब्बाले सुनसरीकै धरान उपमहागरपालिकामा फैलिएको डे्रगुरोगको महामारी नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।

सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले संसदको शून्य समयमा सांसदहरुले ध्यानाकर्षण गराएका विषयमा सरकारले चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराउन सभामुखसँग माग गरे ।

सत्तारुढ दलका अर्का सांसद सूर्यकुमार पाठकले प्राकृतिक स्रोत–साधनको दोहन गर्न जनप्रतिनिधि नै सक्रिय रहेको आरोप लगाउँदै यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरे ।

सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, लालकाजी गुरुङ, सञ्जयकुमार गौतम, सुदन किराती, ज्ञानकुमारी छन्त्याल, सीतादेवी यादवलगायतले समयसामयिक विषयमा देखिएका विभिन्न समस्या समाधानको माग गरे ।