उच्चस्तरीय समिति बैठक : लकडाउनकाे स्वरुप परिर्वतनबारे निर्णय हुन सकेन

Posted by

  जेठ २६, २०७७ सोमबार काठमाण्डाै – सरकारले जारी गरेको लकडाउनको नागरिकबाट स्वतः उल्लङ्घन भइरहेका बेला लकडाउनको स्वरुप परिर्वतनको निर्णय गर्न बसेको उच्चस्तरीय समिति बैठक आईतबार पनि निर्णयमा पुग्न सकेन । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति अबेरसम्म बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदा टुंग्याउन नसकेको हो ।

विगत केही दिनदेखि निजी क्षेत्र,व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसंगको छलफल पछि तयार पारेको मस्यौदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताइए पनि बैठकले ठोस निर्णय गर्न सकेन ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरी पुन अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तयार भइरहेको कार्ययोजनाको मस्यौदामा आज पनि घनीभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरी आजको बैठक सम्पन्न भएको छ । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् । यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरी मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी  पुन पेश गर्ने गरि बैठक सम्पन्न भएको छ ।’