उवासंघ चितवनः अध्यक्षको उम्मेद्वारका लागि श्रेष्ठद्धयको गोलाप्रथा

Posted by

चितवन, बिहिबार, पुस १७, २०७६ –

उद्योग बाणिज्य संघ चितवनको अध्यक्षको उम्मेद्वार छनोट गर्नका लागि गोलाप्रथा गरिएको छ । पूर्व अध्यक्षहरुको रोहबरमा अध्यक्षको उम्मेद्वारीका लागि गोलाप्रथा गरिएको हो । राजु श्रेष्ठले अध्यक्षको उम्मेद्वारका लागि गोलाप्रथा जितेका छन् । सहमती अनुसार बरिष्ठ उपाध्यक्षमा चुन नारायण श्रेष्ठले उम्मेद्वारी दिनेछन् । अर्को कार्यकाल उनि अध्यक्षको उम्मेद्वार बन्नेछन् ।

गोलाप्रथाबाट राजु श्रेष्ठ अध्यक्षको उम्मेद्वार बन्ने भएपछि सामाजिक सञ्जालमा निर्वाचित भएको भन्दै बधाईको ओइरो लागेको छ । तर अध्यक्षको लागि अन्य जो कसैले पनि उम्मेद्वारी दिन सक्ने प्रवधान छ । अन्य व्यवसायीले पनि अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

उवासंघको निर्वाचन नजिकिँदै गर्दा राजु श्रेष्ठ र चुननारायण श्रेष्ठले अध्यक्षको उम्मेद्वारका लागि चर्चामा थिए । राजुलाई नेकपा र चुननारायणलाई नेपाली काँग्रेसको समर्थन थियो । पछिल्लो समय उवासंघको निर्वाचन पार्टीगत रुपमा विभाजन भएको भन्दै सहमतीका आधारमा गोलाप्रथा गरिएको चुननारायण श्रेष्ठले बताए । उनले भने,‘संस्थाको गरिमा,प्रतिष्ठा जोगाउन सहज तरिकाले जाँउ भन्ने उदेश्यका साथ गोलाप्रथा गरिएको हो ।’ उनले गोला आफ्नो पक्षमा नपरेको भन्दै नैतिकताका आधारमा नै अध्यक्षमा उम्मेद्वारी नदिने बताए । उनले अन्य जो कोही पनि अध्यक्षको उम्मेद्वार बन्नसक्ने बताए ।

दुई व्यवसायीको सहमती पार्टीको रोहबरमा गरिएको भनिएपनि नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले यसबारे आफूलाई कुनैपनि जानकारी नभएको प्रतिकृया दिए । उनले भने,‘निर्वाचनको प्रकृया नभई कसरी सहमती हुन्छ,राजु श्रेष्ठ र चुननारायण श्रेष्ठले सहमती गर्दैमा हुने हो र ? उनले निर्वाचनमा अन्य जो कसैले पनि अध्यक्षमा उम्मेद्वारी दिनसक्ने बताए ।

उवासंघ चितवनको सदस्यता नविकरणका लागि १ दिन बाँकी छ । मतदानको अधिकार प्राप्त ४४ सय सदस्यमध्य ३५५० जनाले नविकरण गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक गौरब खतिवडाले जानकारी दिए । संघमा अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सदस्यतर्फ उद्योगबाट ६ जना, बाणिज्यबाट ६ जना, बस्तुगतबाट ४जना , महिला उद्यामी १ जना,कर्पोेरेट सदस्य २ जना र क्षेत्रिय संगठित सदस्य १ जना निर्वाचित हुने व्यवस्था छ । संघको ५३ औं साधारणसभा तथा अधिवेशन पुस २८ र २९ गते हुँदैछ ।