- बुधबार, २९ जेष्ठ, २०७६
काठमाडौं, जेठ २९ । न्यूरोड टिम (एनआरटी)ले ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबलको चौथो संस्करणमा शानदार सुरुआत गरेको छ ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा एनआरटीले च्यासल युथ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
एनआरटीलाई जिताउन रेजन माझी, कृतिष रत्न छुन्जु, सुजन शर्मा र विवेक राईले एक/एक गोल गरे । श्याब लो तामाङले च्यासलका लागि एक सान्त्वना गोल फर्काए ।
एन्फाका पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले प्रत्येक वर्ष १८ वर्षमुनिको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यो संस्करणमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
‘लिगकम नकआउट’का आधारमा जारी प्रतियोगितामा सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।
समूह चरणका विजेता र उपविजेतासहित तेस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।