एमसीसीमा अमेरिकी अडान : सबै सर्त पालना गरेपछि मात्रै शोधभर्ना

Posted by

मंगलबार, १४ माघ, २०७६ काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको शोधभर्ना दिन नमिल्ने बताएको छ ।

साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ ।

सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनकालागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ ।

एमसीसी सहयोगका परियोजना अर्थ मन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत कार्यान्वयन हुँदैं छन् ।

एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै आएको छ । यो खर्च शोधभर्नास्वरुप १ करोड अमेरिकी डलर (१ अर्ब १० करोड रुपैयाँ) माग गर्दै सरकारले एमसीसीलाई पत्राचार गरेको थियो ।

एमसीसीले अर्थमन्त्री डा. युवराज खतिवडालाई जवाफ पठाएर सबै सर्त पालना नभएसम्म शोधभर्ना निकासा गर्न नसकिने स्पष्ट पारेको हो । अन्नपुर्ण पोष्ट दैनिक बाट ।