एमाले र माओवादीको संयुक्त चुनावी सभा गोर्खाबाट शुरु हुने

Posted by

२३ कात्तिक,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावी सभालाई संयुक्तरुपमा सम्वोधन गर्ने भएका छन् ।
चुनावलाई लक्षित गर्दै एमाले र माओवादीले ताप्लेजुङ-दार्चुला अभियान शुरु गरेका छन् । १९ कात्तिकमा ताप्लेजुङमा भएको सभामा प्रचण्ड उपस्थित हुन नसकेपछि ओलीले मात्रै सम्वोधन गरेका थिए । वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने र पार्टी एकताको सन्देश दिने गरी संयुक्त चुनावी सभा गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अभियानको क्रममा शीर्ष नेताहरु पुग्न नभ्याएको स्थानमा दुबै पार्टीका नेताहरुले अनुकुल मिलाएर सम्वोधन गर्ने योजना बनाइएको छ ।
ओली र प्रचण्डको संयुक्त चुनावी सभा भने आगामी २९ गते गोर्खाबाट शुरु हुनेछ । गोर्खाका चार स्थानमा सभा आयोजना हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् ।वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट डा. बाबुराम भट्टराई उम्मेदवार बनेकाले गोर्खाको विशेष चर्चा हुने गरेको छ । गोर्खापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ ।झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ । यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।