एसइईको हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष हुने

Posted by

सोमबार, ३ चैत, २०७६ । माध्यमिक शिक्षा परीक्षा, कक्षा १०(एसइई) को हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष निर्माण हुने भएको छ ।

६ चैतदेखि सुरु हुने एसइई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ ।

शिक्षा र स्वास्थ्यमन्त्रीको केही दिनअघि बसेको बैठकले हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय पनि गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयबाट खटिने स्वास्थ्यकर्मीले परीक्षार्थीलाई जाँच गर्दा रुघा, ज्वरो देखिएमा आइसोलेसन कक्षमा राखेर परीक्षा दिने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । यस वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम भएका छन् ।

स्वास्थ्य मन्त्रालयले नजिकैको स्वास्थ्य केन्द्रबाट परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी खटाउने तयारी गरेको छ । शिक्षा मन्त्रालयले स्वास्थ्यलाई सबै परीक्षा केन्द्रको विवरण आइतबार दिएको छ ।

परीक्षा नियन्त्रक खकुरेलले नेपालमा कतै पनि कोरोना संक्रमण नदेखिएकाले परीक्षालाई निरन्तरता दिइएको बताए । -नयाँ पत्रिका दैनिकबाट