एसिड प्रहार गर्नेलाई कारबाही गर्न विशेष कानुन ल्याइने

Posted by

१५ दिनभित्र मस्याैदा तयार पार्न प्रधानमन्त्रीकाे निर्देशन

  भदौ २५, २०७७ बिहिबार काठमाण्डाै – सरकारले एसिड प्रहार गर्नेलाई कारबाही गर्न विशेष कानुन ल्याउने भएको छ । एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी पीडितलाई क्षतिपूर्ति भराउने कानुन बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्रमणमा परेका १२ जनासँगको छलफलमा प्रधानमन्त्री ओलीले मानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताउनुभएको हो ।

यसका लागि १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्न प्रधानमन्त्री ओलीले कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायत सरोकार निकायलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

यस्तै एसिड पीडितको सबै उपचार, शिक्षा र जीविकोपार्जनको जिम्मेवारी सरकारले लिने पनि उहाँले बताउनुभयो ।