कमिसन माग्ने र निर्माण सामाग्री खरिद गर्न दबाब दिनेले भत्काए रंगशालाको बार

Posted by

चितवन,जेठ १५-

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । आज (बुधबार) विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् ।

त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामाग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका छन् । तिनै धम्की दिने व्यक्तिहरुले नै डोजर लगाएर बार भत्काएको फाउण्डेसनका एक कर्मचारीले बताए ।

नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए । ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।

घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन् । घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ । चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए । सो छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निर्यौक्ल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए । स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए ।

स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । ‘उहाँहरुले अहिले सामान सुरक्षाका लागि बार लगाउनुस् भन्नुभयो र लगाएँ तर एकाएक आएर डोजर लगाउनुभयो’ धुर्मसले भने ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अराजक व्यक्तिहरुको भीडले रंगशाला निर्माणस्थलमा गराएको घटनालाई गम्भीर रुपमा लिएको बताइन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्रिय गौरवको आयोजनाका लागि कुनै पनि सुरक्षाको कमी नहुन नदिइने बताए । उनले घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने बताए ।