कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा

Posted by

१ मंसिर, काठमाडौं ।
कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको सरकारी अनुगमन टोलीले फेला पारेको छ ।महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी अधिकृत अनिता अधिकारी नेतृत्वको टोलीले २७ कात्तिकमा गरेको अनुगमनमा उक्त तथ्य खुलासा भएको हो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् ।११ सदस्यीय टोलीमा मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिका अधिकारी सहभागी थिए । ती किशोरीहरुलाई बिहान नौदेखि राति १० बजेसम्म अवैध धन्दामा लगाइने गरेको टोलीले पत्ता लगाएको छ ।गेस्टहाउसहरुका माथिल्लो तल्ला र खाजाघरका भित्री कोठाहरुमा त्यस्तो धन्दा हुने गरेको पाइएको अधिकृत अधिकारीले जानकारी दिइन् ।उनका अनुसार अविवाहित किशोरीलाई सिन्दुर, पोते लगाइदिएर विवाहित भएको बताउँदै ग्राहकसँग यौन सम्पर्क गर्न पठाइने गरेको अनुगमनका क्रममा भेटिएको छ ।त्यसक्रममा भेटिएका अधिकांश किशोरीसँग नागरिकता थिएन । अर्थात्, उनीहरु नागरिकता बनाउने उमेर १८ वर्षभन्दा कमका हुन् । कतिपय राम्रै परिवारका र कतिपय पारिवारिक वातावरण राम्रो नभएका कारण त्यस्तो धन्दामा लागेको पाइएको छ ।