काठमाडौंसम्म रेल ल्याउने बाटो खुले पनि लगानीबारे अस्पष्ट

Posted by

असार ८, काठमाडाैं –
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा रेलमार्ग निर्माणबारे महत्वपूर्ण सम्झौता तथा समझदारी भएको छ ।रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ । तर लगानी कसको र कसरी भन्ने प्रष्ट भैसकेको छैन ।
रसुवागढी–काठमाडाैं रेलमार्ग निर्माण प्रक्रियालाई गति दिन चाहिँ चीन सहमत भएको छ ।प्रारम्भिक सम्भाव्यता अध्ययन भइरहेको यो रेलमार्ग निर्माण अगाडि बढाउने विषयमा रेल विभागले पठाएको कागजातका आधारमा नै सम्झौता भएको हो ।विभागका अधिकारीले सम्झौतालाई विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्ने काममा मार्गप्रशस्त भएको बताएका छन् । चिनियाँ प्राविधिक टोलीले गएको जेठ ६ गतेदेखि रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । वैशाख १५ गते रेलमार्गका बारेमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनमा नै पूर्वसम्भाव्यता अध्ययनका लागि प्रारम्भिक सहमति भएको थियो ।त्यही सहमतिका आधारमा चिनियाँ प्राविधिकले रेलमार्गको अध्ययन गरेका थिए । रेल विभागका अनुसार यो रेलमार्गको प्रारम्भिक अध्ययन आउँदो भदौको पहिलो सातासम्म सम्पन्न गर्ने तयारी छ ।
रेलमार्गको लम्बाई ८० किलोमिटर
नेपाली सीमा रसुवागढीदेखि काठमाडौँसम्मको रेलमार्ग करीब ८० किमी लामो हुनेछ । करीब एक घन्टाको यात्रामा रसुवागढीबाट काठमाडौँ आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ ।नेपाल र चीनलाई जोड्ने रेल चीनको ल्हासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ । रेलमार्गमा सुरुङ र पुलको संख्या बढी हुनेछ ।रसुवागढी–काठमाडौँ रेलमार्गमा छ वटासम्म स्टेशन रहने बताइएको छ । प्रारम्भिक अध्ययन सकिएपछि रेलमार्गका लागि डिपिआर तयार गरिने छ । रेलमार्ग काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जाने तथा अर्को लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ ।काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट र रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता के हुन्छ भनेर प्रतिवेदन तयार पार्ने काम चलिरहेको छ ।सरकारले आउँदो आर्थिक वर्षका लागि सार्वजनिक गरिसकेको बजेट तथा नीति र कार्यक्रममा रसुवागढी–काठमाडौँलगायत रेलमार्ग निर्माण गर्ने विषय समावेश गरेको छ ।
लगानीबारे अस्पष्ट
काठमाडौंसम्म रेल पुर्याउन चीन सहमत भएपनि रेलमार्ग निर्माणको खर्च कसले व्यहोर्ने भन्ने खुलेको छैन । रेलमार्गको डिपिआरका लागि नै झण्डै तीन अर्ब रुपैयाँभन्दा बढी खर्च हुने छ ।रेलमार्गको लागत करीव चार खर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ । यति धेरै रकम नेपाल आफैंले खर्च गर्न सक्ने अवस्था छैन ।रेलमार्ग निर्माणको लागि नेपालले चीनसँग अनुदान दिन अनुरोध गरेको थियो । तर चीनले यसको जवाफ दिएको छैन । तत्काललाई सम्भाव्यता अध्ययन र डीपीआर निर्माण आफैंले गर्न चीन तयार छ ।बुधबार प्रधानमन्त्री ओलीसँग भएको भेटमा चिनियाँ राष्ट्रपतिले अब छिटै काठमाडौंसम्म रेल पुग्छ भनेकाले नेपाली टोली उत्साहित भएको छ ।रेलमार्ग निर्माणमा लगानीबारे चीनले अहिल्यै केही नबोले पनि उसको अनुदान र नेपाल आफ्नैको खर्चमा रेलमार्ग बनाउन सकिन्छ भन्नेबारेमा नेपाली टोली ढुक्क छ ।

Chinese Premier Li Keqiang (R) talks to Nepal Prime Minister Khadga Prasad Sharma Oli during a signing ceremony at the Great Hall of the People in Beijing, China March 21, 2016. REUTERS/Lintao Zhang/Pool
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्भाव्यता अध्ययन सकिएपछि मात्र लगानीबारे टुंगो लाग्ने बताउनुभएको छ ।