फोटो फाइल

कार्यालय तोडफोड र कर्मचारीमाथिको दुर्व्यवहारप्रति निकुञ्ज कार्यलयको ध्यानाकर्षण

Posted by

जेष्ठ ८,चितवन
चितवन राष्ट्रिय निकुञ्जको पूर्वीसेक्टर कार्यालय सौराहामा आगलागी र तोडफोड तथा सुत्केरी महिला कर्मचारीमाथि भएको दुर्व्यवहार र हातपातप्रति गम्भीर ध्यानाकर्षण भएको निकुञ्ज कार्यलयले जनाएको छ । निकुञ्ज प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै सोमबारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त घटनाको भर्त्सना समेत गरेको छ।
सोमबार रत्ननगर ५ स्थित जनकौली सामुदायीक वनमा निउरो टिप्न गएकी स्थानीय ३५ वर्षीया गीता अधिकारीको बाघको आक्रमणबाट निकुञ्जको कोर ईलाकामा मृत्‍यु भएको थियो ।
बाघलाई नियन्त्रणमा लिएर मृतकको शव जङ्गलबाट निकाल्न निकुञ्ज प्रशासनले ढिलासुस्ती गरेको भन्दै स्थानीयले सौराहा क्षेत्रमा आन्दोलन तथा पूर्वीसेक्टर कार्यालय सौराहामा आगजनी र तोडफोड गरेका थिए । निकुञ्जले विज्ञप्ति मार्फत घटनाबारे खबर प्राप्त भएको २५ मिनेटमा नै हात्तीको प्रयोग गरि बाघ नियन्त्रण गर्न प्रारम्भिक प्रयास भएको र तत्कालै पशु चिकित्सक सम्मिलित डार्ट टोली खटाएर करिब ४ बजे बाघ नियन्त्रणमा लिएको स्पष्ट पारेको छ ।
हिंस्रक बाघ जस्तो वन्यजन्तु नियन्त्रणमा लिनु पूर्णरुपमा प्राविधिक बिषय रहेको र यसका लागि आवश्यक सावधानी, सुरक्षा, हात्ती प्राविधिक र औषधि उपकरणको व्यवस्थापनमा लाग्ने समयको बाबजुत छोटो समयमानै बाघलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ । तर बाघ नियन्त्रणका लागि प्राविधिकलाई आवश्यक सहयोग तथा समन्वय गर्नुपर्ने अवस्थामा पर्यापर्यटन प्रवर्द्धन गर्ने सौराहा जस्तो क्षेत्रमा केही अमुक व्यक्तिको उक्साहटमा निकुञ्ज कार्यालयमा तोडफोड तथा आगलागी हुनु दुखद् भएको विज्ञप्तिमा भनिएको छ ।सरकारी कार्यालय तोडफोड तथा आगलागीमा संलग्नलाई कारबाही गरिने बताउदै आफ्नो ज्यान जोखिममा राखी उद्धार तथा संरक्षणमा खटिने कर्मचारीलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन निकुञ्ज प्रशासनले आग्रह गरेको छ । यस्तै निकुञ्ज प्रशासनले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका मृतकहरुप्रति श्रद्धान्जली समेत व्यक्त गरेको छ । साथै यस आ व २०७७/७८ मा बन्यजन्तुको कारण १३ को मृत्यु भएको र जसमध्य ४ जना बाघ ,३ जना गैडा , ३जना हात्ती , १जना मगर गोहि ,१ जना बँदेल र १ जना गौरिगाईको कारण मृत्यु भएको निकुञ्जले जनाएको छ ।