कृषि विश्वविद्यालयको परीक्षा १७ गतेसम्मका लागि स्थगित

Posted by

चितवन, फागुन ८–

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले हाल संचालन भइरहेको परीक्षा तथा पठन पाठनका कार्यक्रम फागुन १७ गतेसम्मका लागि स्थगित गरेको छ ।

विश्वविद्यालय अन्र्तगत कृषि संकाय र पशु विज्ञान, पुश चिकित्सा तथा मत्स्य विज्ञान संकायको नियमित पठनपाठन तथा परीक्षा संचालनमा असहज स्थिति सिर्जना भएकाले फागुन ८ गतेदेखि १७ गतेसम्म परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपतिको कार्यालयका प्रशासक बुद्धिनाथ ढुंगानाद्धारा जारी सूचनामा बुधबारको निर्णय अनुसार पठनपाठन र परीक्षा स्थगित गरिएको उल्लेख छ ।

यही फागुन १ गतदेखि सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट अनेरास्ववियू भित्रको दुई पक्षबीच झडप भएपछि विश्वविद्यालयमा असहज वातावरण सिर्जना भएको थियो । सोही अनुरुप पूर्व एमाले निकट अनेरास्ववियूले तत्काल परीक्षा स्थगित गरी पठनपाठनको सहज वातावरण बनाउन माग गरेको थियो ।

विश्विद्यालयमा दुई पक्षबीच झडप हुँदा एकतापछिको अनेरास्ववियूका केन्द्रीय सदस्य देवप्रसाद पाठक घाइते भएका थिए । यस्तै सोही घटनालाई लिएर अनेरास्ववियूका विद्यार्थीहरुले नेकपा जिल्ला पार्टी कार्यालयमा तोडफोड समेत गरेका थिए ।