कोभिड १९ संक्रमण, मेरो अनुभूति

Posted by

बटुकलाल तमाङ, चितवन

कोभिड १९ संक्रमणबाट मैले १९औं दिनमा औपचारिक मुक्ति पाएको रिपोर्ट प्राप्त गरें । कोभिड १९ केही पनि होइन, र कोभिड १९ संक्रमणले अफ्ठ्यारै पार्छ भन्ने खालको दुई फरक बजार हल्ला सुन्दै आएको थिएँ । दुवै खालको हल्लामा सत्यता छ । तर मलाई चाहि पछिल्लो भनाइ चरितार्थ भयो, अर्थात ८ दिनसम्म अति नै गाह्रो भयो ।सदा झै विद्यालय आउने जाने अनि एकाध ठाउँमा गएको भन्दा अरु यात्रा विवरण खासै थिएन, तैपनि कातिक १९ गते ज्वरो आउन थाल्यो । मौसमी ज्वरो होला भन्ने ठानेर सिटामोल खाएँ । भोलिपल्ट विहान फ्रेस महसुस गरेकोले विद्यालय पनि गएँ । तर दिन ढल्दै जाँदा ज्वरो फेरी बढ्न थालेकोले घर फर्किएँ । बाँकी तीन दिनसम्म सिटामोल खाने, ६ घण्टामात्र ज्वरोबाट मुक्ति पाउने क्रम चलिरह्यो । तर चौथो दिनबाट स्वाद र गन्ध हरायो, खानेकुरा के खाएको खासै स्वाद पाउन छाड्यो । त्यस पछि असाध्यै गाह्रो दिन सुरु भयो । पाँचौ दिन अति मुश्किलले आफै साधन चलाएर चितवन मेडिकल कजेलमा स्वाब दिन गएँ । तबसम्म मेरी श्रीमतीलाई पनि ज्वरो आउन थाली सकेको थियो । उनी एउटा कोठामा र म अर्को कोठामा होम आइसोलेशनमा नै बस्यौं । छोरीलाई मेरो अनि ममिको छुट्टा छुट्टै स्याहार गर्नु पर्दा कामको भार थपियो । भोलिपल्ट साँझ ८ः३०बजे मोबाइलमा कोभिड १९ पोजिटिभ भन्ने मेसेज आयो, पर्सि पल्ट विहानै छोरीलाई रिपोर्ट लिन सीएमसी पठाएँ, सिटी भ्यालु इजेन ९.२८ र ओआरएफ ७.७ रहेछ । भाइरल लोड अत्याधिक भएको थाहा पाएँ । कुरा बुझ्दै जाँदा सिटी भ्यालु ३८भन्दा माथि आएमा नेगेटिभ र ३८वा सो भन्दा तल आएमा पोजिटिभ रिपोर्ट आउने जानकारी पाएँ । सिटी भ्यालु २०भन्दा कम आउनु भनेको खतराको चिन्ह पार गर्नु रहेछ, किनकी २०भन्दा कम हुँदा अरुलाई संक्रमण सार्ने सम्भावना अधिक हुने रहेछ । घरैमा बस्नु उचित ठानिन । अस्पताल जाउँ भने झन असुरक्षित महसुस हुने, यस मानेमा कि छिटो र सही हेरचाह पाइदैन कि भन्ने भ्रम र बजार हल्लाले मेरो मनमा राम्रै जरो गाडेको थियो । थप एक दिन के गर्ने भन्ने अन्यौलतामा नै बित्यो ।बागेश्वरी चितवन स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको बारेमा भाइ मनोज बरालबाट जानकारी प्राप्त हुन आयो, त्यहाँको व्यवस्थापन राम्रो छ भन्ने पृष्ठपोषण पाएको थिएँ । यता हामीलाई स्याहार सुसार गर्न खटिएकी छोरीलाई पनि हलुका ज्वरो आयो भने पछि, तुरुन्त निर्णय लिइहालें । आफ्नो निजी साधनमा ओड्ने ओछ्याउने अनि अन्य केही दैनिक आवश्यकीय सामानहरु राख्यौं, अनि सीएमसी गएर श्रीमतीको समेत स्वाब संकलन गराइयो र सोझै बागेश्वरी प्राकृतिक चिकित्सालय तर्फ लाग्यौं । त्यहाँ पुग्ने वित्तिकै डाक्टरहरु तुरुन्तै फाइल बोकेर आउनु भयो । हाम्रो सबै विवरण लिखित रुपमा लिनु भयो । डा. हेमराज कोइरालाको नेतृत्वमा रहनु भएका पाँच सदस्यीय चिकित्सकहरु डा. प्रमोद, डा. प्रतिक्षा, डा.विकास अनि डा. सृष्टि साँचै नै यस प्राकृतिक चिकित्सालयका लागि अत्यन्तै उपयुक्त पात्राहरु र वरदान नै रहेको महसुस गरें । २४सै घण्टा विरामी (वहाँहरुको भाषामा भन्नु पर्दा कोभिड १९ संक्रमित योग साधकहरु)को हेरचाहमा खटिनु हुने रहेछ । मेरो रिपोट पोजिटिभ भएको हुँदा आइसोलेशन ब्लक भित्र प्रवेश पाएँ, तर श्रीमतीको रिपोर्ट नआएको हुँदा छुटै ब्लकमा राखियो । आइसोलेशन ब्लकमा करिब ६०जना जति थियौ हामी । मास्क लगाउन नपाइने नियम रहेछ त्यो भित्र, गजब अनुभव । जंगलको माझमा पर्याप्त अक्सिजन, हरेक दिन विहानको १ः३० घण्टा लामो योग अभ्यास, विरामीको अवस्था अनुसारको खानेकुरा, चिकित्सकहरुको विरामीलाई हुने व्यक्तिगत निगरानी, व्याडमिन्टन खेल, र खुला ठाउँमा विहानैबाट घाम ताप्ने अनि हिड्ने पर्यात स्थान, र विरामी साधाकहरु विच हुने भलाकुसारी नै यस प्राकृतिक चिकित्सालयको कोभिड १९ लाई सहजै र छिटै परास्त गर्ने सशक्त अस्त्रहरु हुन् जस्तो लाग्छ मलाई । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित यस कार्यक्रम साच्चै नै अति प्रभावकारी छ । खाना र बस्नलाई वडाको सिफारिश ल्याए पछि निशुल्क रहेछ ।यहाँ बस्दा थप पाँच दिन मलाई ज्वरोले छाडेन, असाध्यै गलायो, करङको भागमा अति दुख्ने, सुत्न नसकिने, सास नै छिनेर लैजान्छ कि जस्तो हुने । मोबाइल साइलेन्टमा राखेको थिएँ, इष्ट मित्र साथीहरुको फोनकल अधिक आइरहेको थियो, उठाएर कुरा गर्ने अवस्था थिएन, यसका लागि सबै इष्ट मित्र साथीहरुमा क्षमा प्रार्थी छु । यहाँहरुको हरेक कलले मलाई यस जटिल घडीमा हौसला अनि उर्जा मिली रहेको थियो । माइलो भाई, बुद्धि, बु्रनाईबाट ठूली छोरी अस्मिता अनि ज्वाइँ, हेटौडाबाट माइली छोरी रुविना अनि ज्वाइँ, घरबाट कान्छी छोरी प्रविना र छोराको बारम्बार आइरहने भिडियो कल र ढाडस साच्चै अदभुत औषधिको काम गरी रहेको थियो यतिबेला । हामीले घर छाडेको भोलिपल्ट घरमा छोरी र छोरालाई पनि हलुका ज्वरो आएको थियो एक एक डोज सिटामोलले उनीहरुले स्वास्थ्यलाभ गरे । कोभिड १९को रिपार्ट नेगेििटभ आए पनि तिहारको दिन श्रीमतीलाई अलि बढी नै गाह्रो भयो । भोलिपल्ट डा. प्रमोदले ल्याबबाट एकजना ल्याब कर्मचारी डाकी दिनु भयो र उनको रगत, दिसा, पिसाबको स्याम्पल लिएर होल बडी चेकअप भयो । हेमोग्लोविन ७ं.२, रगतमा केही संक्रमण र निमोनियाको लक्षण देखिए पछि माइलो भाईलाई बोलाएर उनलाई सिएमसी लगियो, अर्को तनाव सुरु । सोही दिन राती रगत चढाउनु पर्ने भयो राती नै । दाज्यु नरेन्द्र के.सी.लाई धेरै धेरै धन्यवाद शीघ्र रगतको व्यवस्थापन र अन्य कुरामा सहयोग गरी दिनु भएकोमा । पुनः भाइलर टेस्ट गरी कोभिड १९ नेगेटिभको कन्र्फमेशन गरी उनलाई भोलिपल्ट ननकोभिड वार्ड राखी निमोनियाको उपचार सुरु भयो, क्रमशः सुधार हुँदै गएको खबर पाइ रहेँ । सिएमसीमा साँच्चै राम्रो उपचार दिने रहेछ, मेरो मनमा रहेको गलत भ्रम हट्यो । १२दिन पछि मंसीर १गतेबाट बल्ल बल्ल ज्वरोबाट मुक्ति पाइयो, शरीर फ्रेस हुँदै आयो । योगा र त्यहाँको वातावरणले होला ज्वरो आउन छाडेको चार दिनमा नै असाध्यै स्वस्थ्य महसुस गरें । मंसीर ५ गते अर्थात ज्वरोको सुरुवात भएको १७औं दिन पुनः स्वाब दिइयो । मंसीर ७ गते बेलुका ५बजे तिर रिपोर्ट मेसेज आयो मोबाइलमा नेगेटिभ भनेर, त्यति बेला संसार नै जिते जस्तो भान भयो । श्रीमती पनि हिजो राति अस्पतालबाट डिस्चार्ज भइन्, धेरै सुधार भएको छ, निमोनियाबाट पूर्णरुपमा मुक्ति पाउँन उनलाई अझै केही दिन लाग्ने डाक्टरको भनाइ छ, हाल घरैमा औषधि सेवन गरी स्वास्थ्यलाभ लिइरहेकी छिन । एउटा अति नमिठो कालखण्ड गुजारेर हिजो राति (मंसीर ७) गते सबैजना पुनः आफ्नै बासस्थानमा फर्किएका छौं । यस विचमा हाम्रोलागि स्वास्थ्यलाभको कामना गर्नु हुने सबै इष्टमित्र, साथी, शुभचिन्तकहरुमा हार्दिक नमन अनि आभार व्यक्त गर्न चाहन्छु । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय (कोभिड १९ आइसोलेशन केन्द्र) वागेश्वरीमा रहँदा सहयोग पुर्याउनु हुने पाँचैजना मेहनती र कर्तव्यपरायण चिकित्सकहरु, प्रशासकीय अधिकृत मित्र कमल पाण्डे, भान्सा र अन्य व्यवस्थापनका टीम, सुरक्षाकर्मीहरु, सामानहरु ल्याउन सहयोग पुर्याउने सीता बहिनी, आइसोलेशन भित्र सँगै बसी बसाइलाई सरल र सहज बनाउने सबै साथीहरुलाई हार्दिक नमनका साथ पुनः स्मरण गर्न चाहन्छु । धन्यव