कोरोनाबाट निधन भएका युवकको धार्मिक परम्परानुसार अन्त्येष्टि

Posted by

सोमबार, ५ जेष्ठ, २०७७ बाँके । बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आइतबार अन्त्येष्टि गरिएको छ ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परानुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो ।

भारत, महाराष्ट्र मुम्बईबाट गत वैशाख ३० गते बाँके आएलगत्तै नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दैआएका ती युवकको आइतबार बिहान ४ बजेतिर  दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको थियो ।

शनिवार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आज अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारिन्टनमै राखिएको थियो ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि बसेको जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थान क्वारेन्टिनदेखि करीब ३ किमीको दूरीमा रहेको शव दहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय भएअनुसार दाह संस्कार गरिएको हो ।

सङ्क्रमित ब्यक्तिको सम्पर्कमा रहेको आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएपछि प्राथमिकताका साथ  उनको स्वाब परीक्षणको गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । रासस