कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रबीच आज भिडियो कन्फरेन्स हुने

Posted by

चैत २, २०७६ काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज भिडियो सम्मेलन गर्ने भएको छ।  कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आज साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो।  जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नुहुनेछ। 

भिडियो कन्फ्रेन्समा उठान हुने मुख्य विषय कोरोना भाइरस नै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले पुष्टि गरे।  उनले भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव अनुसार सबै सार्क राष्ट्र प्रमुखहरुले भिडियो कन्फरेन्समा सहभागिता जनाउनेछन्। भारतबाट भएको सो प्रस्तावमाथि सार्कको अध्यक्ष राष्ट्रको प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट आफ्नो राय भिडियो कन्फरेन्समा व्यक्त गर्नेछन्।  सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस नियन्त्रणका लागि डिजिटल सञ्जाल ट्विटरबाट एकसाथ प्रतिवद्धता जनाएका थिए। यस्तै अन्य सदस्य राष्ट्रका प्रमुखहरूबाट पनि त्यस प्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएका थिए।