‘कोरोना’ प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग

Posted by

मंगलबार, २८ माघ, २०७६ । प्रतिनिधिसभाका सांसदहरुले चीनको ‘कोरोनाभाइरस’ प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गर्दै उनीहरुले कोरोनाभाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन’स्थल विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए ।

सांसद सरिता गिरीले चीनको कोरोनाभाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

उनले यस विषयले संसदमा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेकोसमेत बताइन् ।

सांसद प्रेम सुवालले कोरोनाभाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन’स्थलका रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताए ।

उनले त्यस्तो स्थल घनाबस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गरिन् ।

सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गरे । रासस