खाना पकाउने ग्यासकाे मूल्य बढ्यो, पेट्रोल र डिजलको एक रूपैयाँ घट्यो

Posted by

मंगलबार, २१ माघ, २०७६ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ ।

काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ भने पेट्रोल ११० र डिजल/मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य घटेको र ग्यासको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्यासको मूल्य बढाएर तेलको मूल्य घटाइएको उल्लेख छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ बनाइए पनि हवाई इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।