खैरहनी नगर भित्रका सबैको र्‍यापिड टेष्ट नेगेटिभ

Posted by

खैरहनी, ५ बैशाख शुक्रबार :  विदेशबाट आई होम क्वारेन्टिनमा वसेका खैरहनी नगर भित्रका सबैको र्‍यापिड डाईग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । चैत महिनामा विदेशबाट आएका ८० जनामा यो परीक्षण गरिएको थियो ।

उनीहरु सवैको र्‍यापिड टेष्ट नेगेटिभ आएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए । टोल विकास संस्था हुँदै वडाबाट सुरुमा ५२ जनाको मात्र तथ्यांक आएको थियो । तर धेरैको नाम छुटेको हुँदा परीक्षण गर्नेहरुको संख्या बढेको अधिकारीले बताए । चैत महिनामा विदेशबाट आएकाहरु अझै केही छुटेका छन् ।

खैरहनी नगरपालिकालाई ८० थान मात्र किट प्राप्त भएको थियो । किट अभाव हुँदा छुटेकाहरुको र्‍यापिड टेष्ट हुन बाँकी रहेको छ ।  खैरहनीमा मंगलबार, बुधबार र विहीबार गरी तीन दिन र्‍यापिड टेष्ट गरिएको थियो । तथ्यांकमा रहेकाहरु सबैले १८ दिन होम क्वारेनटाईनमा बिताएको स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले बताए ।