खोलामा ढुंगा-गिट्टी उत्खनन तीव्र उद्योग बन्द गर्न सांसदको माग

Posted by

जेठ ४, २०७५ विराटनगर :
उत्तरी मोरङका विभिन्न खोलाबाट ढुंगा–गिट्टी उत्खनन गर्ने कार्य तीव्र बनेको छ। प्राकृतिक स्रोतको उचित उपयोगको सट्टा खोलाबाट विभिन्न विकास निर्माण र च्यानलाइजको नाममा सम्पत्तिको दोहन भएको सो क्षेत्रका स्थानीयले बताउँदै आएका थिए। खोलाको अवैध उत्खनन र सम्पत्तिको दोहन रोक्न मोरङका ३ सांसद लागेका छन्। मोरङ क्षेत्र नम्बर १ का १ र २ नम्बर प्रदेश सांसद कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे र क्षेत्र नम्बर ३ (१) का सांसद सूर्यमाराज राईले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी खोला उत्खनन रोक्न र दोहनको विषयमा छानबिन समिति बनाउन प्रदेश सरकारसँग माग गरेका छन्। क्रसर उद्योगहरूको नाममा उत्तरी मोरङका खदम खोला, चिसाङ खोला, डाँस खोला, बक्राहा खोला, सोल्टी खोला, बुढी खोला, जिरी खिम्तीलगायत दर्जनौंँ खोलाबाट अहिले अवैध ढंगले ढुंगा गिट्टी उत्खनन र निकासी भइरहेको छ,’ सांसद उपेन्द्र घिमिरेले भने, ‘अवैध उत्खननको सबैभन्दा धेरै सिकार मेरो क्षेत्र परेको छ।’ मोरङमा सञ्‍चालित २२ वटाभन्दा बढी क्रसर उद्योगमध्ये अाठवटाले मात्रै मापदण्ड पूरा गरेका घरेलु तथा साना उद्योगको कार्यालयको रेकर्डमा छ। तर, सरकारी निकाय जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय वा घरेलु उद्योग कार्यालय कसैले पनि अवैध उत्खनन र बिक्री वितरण रोक्ने पहल नगरेको सांसदहरूको दाबी छ।