गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या ५ सय ४ पुग्यो

Posted by

असार ७, २०७७ पर्वत :  आइतबार बिहान गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।  यो सङ्ख्या थप भएसँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ५ सय ४ पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा। बिनोदबिन्दु शर्माले आइतबार विज्ञप्ति मार्फत यसको पुष्टि गरेका छन्। उनका अनुसार बागलुङ, म्याग्दी, पर्वत र तनहुँका व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको हो।

जसमा बागलुङको गल्कोट नगरपालिकाका २१, २२, २२ र २६ वर्ष उमेरका ४ जना पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय १ जना पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ वर्षका ३ जना पुरुष र बागलुङ नगरपालिकाका २१ वर्षीय १ जना पुरुष गरी कुल ९ जनामा सङ्क्रमण रहेको पाइएको हो। यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकाका ३० र ९ वर्षीय उमेरका २ जना महिला र  २० वर्षीय पुरुष १ जना गरी ३ जना तथा मंगला गाउँपालिकाका २० वर्षीय १ जना पुरुष गरी ४ जना थपिएका छन्।  डा शर्माका अनुसार पर्वतको कुस्मा नगरपालिकाका २७ र ३२ वर्षीय २ जना पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय १ पुरुषमा पनि सङ्क्रमणको पुष्टि भएको छ।  जिल्लाका क्वारेन्टाइनहरुमा रहँदै आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा लैजाने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।