गरीब तथा जेहेन्दार विद्यार्थी लाई खेमनाथ स्मृति छात्रवृति वितरण

Posted by


रेडियो प्रभाव ,चितवन
स्वर्गीय खेमनाथ सापकोटा को पाँचौं पूण्य स्मृतिको अवसरमा बुधवार छात्रवृति वितरण गरिएको छ। माध्यमिक विद्यालय भरतपुर १३ गंगानगरमा स्थापित खेम नाथ सापकोटा स्मृति अक्षय कोषले छात्रवृति वितरण गरेको हो। विद्यालयमा अध्ययन गर्ने अति बिपन्न र दलित समुदायका ६९ जना छात्र छात्रा हरुलाई छात्रवृति स्वरुप पाठ्य पुस्तक प्रदान गरिएको हो। स्थापित अक्षय कोष बाट विगतका वर्षहरुमा नगद छात्रवृति वितरण गर्ने गरेकोमा यस पटक नगद नभई पुस्तक प्रदान गरेको हो।विद्यार्थीहरुले पाठ्य पुस्तक खरिद गर्न नसकी पठन पाठनमा कठिनाई भोगेकाले आफ्ना पिताको पूण्य स्मृतिको अवसरमा पुस्तक प्रदान गरिएको अक्षय कोषका अध्यक्ष रामजी प्रसाद सापकोटाले बताए। स्थानीय विद्यालयको शैक्षिक तथा भौतिक बिकाशमा केहि मद्दत पुगोस र विद्यार्थी हरुलाइ पनि राहत होस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको सापकोटाले बताए। तीन दाजुभाई रामजी प्रसाद सापकोटा,रामप्रसाद सापकोटा र बिश्व सापकोटाले रु तीन लाख पाँच हजारको अक्षय कोष स्थापना गरेका हुन्। कोष बाट प्राप्त व्याजले हरेक वर्ष छात्र वृति प्रदान गर्ने गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुबेदीले विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा समुदायको अति नै योगदान रहने हुँदा यस्ता कार्यक्रमहरु थपिनु जानु पर्नेमा जोड दिए।पुस्तक वितरण कार्यक्रममा आठ दाजुभाई ,परिवार र स्थानीय समाजसेवी हरुको उपस्थिति रहेको थियो।कार्यक्रममा स्वर्गीय खिमनाथ सापकोटाले लोकतन्त्र स्थापना ,समाजको विकास र परिवर्तनमा पुर्याउनु भएको योगदानको चर्चा गरिएको थियो। कार्यक्रमलाई विद्यालयका प्राचार्य श्री राम देबकोटाले सहजीकरण गरेका थिए।