गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा स्थानियले सद्भाव र्‍याली निकाले

Posted by

जेठ २३, २०७६ चितवन : गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा स्थानियले सद्भाव र्‍याली निकालेका छन्। रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका १५, १६ र १७ नम्बर वडाका सयौँ स्थानियले बुधबार संयुक्त रूपमा सद्भाव र्‍याली  निकालेका हुन्।  उनिहरूले ‘उठौँ जागौँ क्रिकेट रंगशाला निर्माणमा जुटौँ’ भन्ने नारा लेखिएको व्यानरसहित रंगशाला निर्माण परिसर भित्र गएर अवलोकन गर्नुका साथै नजिकै रहेको धुमुर्स सुन्तली फाउण्डेसनको साइट अफिसमा पुगेर निर्माणमा एकेवद्धता जनाएका थिए। उनिहरुले स्थानियको पूर्ण साथ सहयोग रहेको भन्दै काम निरन्तर अघि बढाउन फाउण्डेसनलाई आग्रह गरे।  र्‍यालीमा सहभागी स्थानिय नरहरी आचार्यले अब कुनै समस्या नआउने वातावरणका लागि स्थानिय प्रतिवद्ध रहेकाले माथिल्लो तहबाट पनि विशेष पहल गर्न आग्रह गरेका छन्। यस्तै  १५ वडाका तुलसी आचार्यले जसरी पनि निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले रंगशाला बन्दैनकि भन्ने चिन्ताले दिनरात पिरोलिरहेको भन्दै काम रोकिनु नहुने बताए।  यस्तै भरतपुर १६ का यम बहादुर न्यौपानेले चितवनसहित देशको गौरवको आयोजना निर्माण हुनु भाग्यको कुरा भएकाले जतिसक्दो समस्या समाधान गरी निर्माणकार्य अघि बढाउनुपर्ने भन्दै फाउण्डेसनलाई काम नरोक्न आग्रह गरे। भेलामा सहभागीहरूले ‘धुर्मुस सुन्तली आउ, रंगशाला बनाउ’, ‘उठौँ जागौँ क्रिकेट रंगशाला निर्माणमा जुटौँ’ लगायतका नारा पनि लगाएका थिए।