गौतम बुद्ध रंगशालालाई जापानका दुई संस्थाको एक लाख सहयोग

Posted by

चितवन, मङ्लबार, साउन १३-

स्टार ग्रुप र एमआरआर कान्साइ जापानले धुर्मुस सुन्तली फाउण्डेसनद्वारा रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

ग्रुपले जापानमा भएको मैत्रीपूर्ण क्रिकेट खेलबाट संकलित रकम सोमबार हस्तान्तरण गरेको हो । सहयोग रकम बुझदै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले यसरी देश विदेशमा रहेका नेपालीले सहयोग गर्दा कामले तीव्रता पाउने बताउनु भयो । उहाँले गौतम बुद्ध रंगशाला धुर्मुस र सुन्तलीको मात्र नभई जनताको भएकाले सबैको सहयोग र साथ पाएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

एनआरएनए कान्साई जापानका उपाध्यक्ष एवम् स्टार ग्रुपका संरक्षक दिलिप शर्मा गैरेले सो रकमले रंगशाला निर्माणमा केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै गैरेले यसभन्दा केही दिन अगाडि व्यक्तिगतरुपमा भरतपुर महानगरपालिकाको बाढी पीडित कोषमा एक लाख, युथ नेपाल भरतपुरलाई ५० हजार रकम सहयोग गर्नुभएको थियो भने देवघाटमा रहेको वृद्धाश्रमका वृद्धवृद्धा र मञ्जुश्री असाहय आश्रममा रहेका बालकालिकालाई खाना खुवाउनु भएको थियो । कार्यक्रममा गैरे सेवा समाज जापानका उपाध्यक्ष चेतराम गैरे र समाजका सल्लाहकार तथा चित्रवन सन्देश पत्रिकाका सम्पादक सुमन गैरेले मन्तब्य व्यक्त गर्नुभएको थियो ।