घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउने तयारी

Posted by

बिराटनगर, साउन १० ।
अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पाइपलाइनबाट घरघरमा ग्यास पुुर्‍याउने सरकारको योजना सुनाएका थिए ।भारतीय नाकाबन्दीको कहर झेलिरहेका नागरिकलाई आश्वस्त पार्दै ओलीले पाइपलाइनको ग्यास बाल्ने भन्दै गर्दा धेरैले खिल्ली उडाएका पनि थिए । तर, प्रधानमन्त्री ओलीले भनेजस्तै पाइपलाईन बिछ्याएर घरघरमा ग्यास पुर्‍याउने योजनाले यतिबेला विराटनगरमा भने सार्थकता पाएको छ ।पहिलो चरणमा महानगरपालिका–१४ नम्वर वडाका घरघरमा बायो ग्यास पुुर्‍याउन पाइप बिछ्याउने काम धमाधम भइरहेको हो । विराटनगर–१४ स्थित श्री कृष्ण गौशालाको गाईको गोबरबाट ३ सय घनमिटर ग्यास उत्पादनका लागि प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सम्पन्न भएको छ ।
गौशाला परिसरमा ग्यास टयाङ्क स्थापना गर्ने कामसमेत सम्पन्न भइसकेको छ ।टयाङ्कमा ग्यास स्टोर गरिन्छ र स्टोर गरिएको ग्यास पाइलाइनबाट घरघरमा पुुर्‍याउने गरी तयारी भइरहेको सो कार्यमा खटिएका स्थानीय सन्तोष यादव बताउँछन् ।साविकको जिल्ला विकास समिति, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र गौशालाको सहयोगमा काम शुुरु भएको हो । विश्व बैंकको ८० प्रतिशत, गौशालाको २० प्रतिशत र विराटनगर महानगरपालिकाको ५ लाख रुपैयाँ लगानीमा बायो ग्यास प्लान्ट सञ्चालन गर्न लागिएको हो ।डेढ वर्ष अघि शुुरु गरिएको सो प्लान्टबाट पहिलो चरणमा ३२ घरमा, त्यसपछि एकसय घरमा ग्यास पुुर्‍याउने लक्ष्य रहेको बताइएको छ ।प्राविधिक काम सम्पन्न भइसकेकाले पाइपलाइन बिछ्याउने काममात्र बाँकी रहेको सो कार्यमा खटिएका उर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।पाइपलाइनबाट ग्यास आउने भएपछि उपभोक्ता समेत उत्साहित भएका छन् ।