चाडपर्व स्वस्थ र मर्यादित हुनुपर्छ

Posted by

अपिल घिमिरे

वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौं धार्मिक अनुष्ठान एवं पूजा-आ्राधना गरिन्छ। हुन त यस्ता देवी पक्षहरू वर्षमा तीनवटा पर्छन। असोजको यो कालरात्रि पर्ने देवी पक्ष बाहेक कार्तिकमा सुखरात्रि तथा चैत्रमा महारात्रि पनि पर्छ। यीमध्ये आश्विन शुक्लमा पर्ने कालरात्रिलाई विशेष रूपमा मनाउने चलन छ जसअन्तर्गत बडादसैं पर्छ। यस्ता विशेष अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ। दसैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गरी दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजा गरेर प्रसाद ग्रहण गर्ने क्रम पूणिर्मासम्म रहन्छ। पूणिर्माका दिन जमरा विसर्जन गरेपछि देवीको पूजा पनि समाप्त हुन्छ।बर्ष दिनमा आउने यो महान चाड नेपाली हिन्दू धर्मावलम्बी को बिशेष पर्व हो।

मान्यजनको हातको टिका लाउने र आशिर्बाद लिने परम्परा छ।अग्रज को सम्मान गर्न सिकाउने र समाजलाई एकिकृत गराउन सक्नु यो पर्व को वैज्ञानिक पक्ष हो।परिवार बाट टाढा भएका सदस्य हरू पनि आफन्त भेटहुने आशामा दशैं आउने दिन औँला भाँचेर बस्दछन।मौषम पनि नत गर्मी नत जाडो नै। वरिपरि हरिया धानका फाँट निलो र सफा आकाश । दोहोरो बाटोमा लठ्ठ फूलेको पाती।लिङ्गे पीङ,रोटे पीङ,र चङ्गा मा झुम्मिएका लालाबाला।सालभरिको दुख बिर्सेर एक छाक भए पनि मिठो मसिनो खाने कुरा को जोहो गरे पछि निस्केको गरिवको मुस्कान । चोक र बजारमा आयोजना गरिएको मेला मा नाच्ने तन्नेरी तरुनीहरू।गीत गुनगुनाउँदै घर फर्कने लाहुरे, जागिरे बैदेशिक रोजगारे।यी सबै को संयोजनले दशैं खुब रमाइलो हुन्छ । यसोत वर्षौ अघि देखि विदेशमा रहेका श्रीमानसंग संगै हुन नपाएका धेरै भाउजू, बुहारी हरू मन अमिल्याएर भए पनि दशैंको बिदाई गर्ने छन।पिढीको डिलमा बसेर नाति नातिनातिना खेलाउदै छोरा को बाटो हेर्दै बस्ने आमा बुवा हरू सुइय सुस्केराऊदै दशै को तयारी गर्ने छन।जे होस् आ आफ्नो अवस्थामा पर्व मनाइँदै छ ।

शक्तिस्वरूपा देवी भगवतीका अनेकौं स्वरूप छन। ती स्वरूपको वर्णन दुर्गा शप्तशती एवं देवी भागवत जस्ता ग्रन्थहरूमा भेटिन्छ। तीमध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजा-आराधना दसैंका नौ दिनसम्म क्रमैसँग हुन्छ। जसलाई नवदुर्गाका नामले चिनिन्छ। नवदुर्गाको पूजा गर्नाले सारा पाप नाश भै मनका चाहना पूरा हुने विश्वास गरिन्छ। यी देवीहरू समस्त प्राणीका शरीरमा माता, विद्या, लक्ष्मी, शक्ति, बुद्धि, माया, शान्ति, धृति, क्षमा, दया, निद्रा आदि स्वरूपमा विराजमान छन। घटस्थापनाका दिनदेखि सुरु हुने दसैंको पहिलो दिन देवी स्थापना गरेर जमरा राख्ने कार्य हुन्छ । उक्त दिन व्यक्तिगत रूपमा घरैमा तथा सामुहिक रूपमा विभिन्न देवी मन्दिर एवं कोतघरहरूमा जमरा राखिन्छ। सम्पूर्ण विधि पुर्याएर जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ। बिहान नुहाइधुवाइ गरी शुद्ध भएर पाठपूजा गर्ने, बेलुका सधैं आरती गर्ने कार्य दसैंभरि नियमित गर्नुपर्छ। पाँचौं दिनसम्म यही क्रम जारी रहन्छ भने छैटौं दिन विल्व निमन्त्रणा अर्थात् बेलको पातले पूजा गरिन्छ। सातौं वा सप्तमीका दिन फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याउन केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा लहरापात एवं जातजातका फूल चाहिन्छ। अष्टमीका दिन राति कालरात्रिको पूजा गरेर बलि दिने तथा होमादि गर्ने कार्य हुन्छ। त्यस दिन कसैकसैले रातभरि भजन-कीर्तन पनि गर्छन। नवमीका दिन देवीलाई बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि पशुबलि दिइन्छ। ब्राह्मणलाई जीवबलि शास्त्रले नै निषेध गरेको छ। त्यसैले ब्राह्मण तथा अन्य शाकाहारीले कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पीठोबाट पशुको आकृति बनाएर बलि दिन्छन। देवी सबैकी मातास्वरूप भएकीले बलि दिनैपर्छ भन्ने छैन। बलि दिने कार्यमा तान्त्रिक परम्पराको प्रभाव गाँसिएको छ। नेपालमा पहिले तन्त्रको ज्यादै प्रचलन भएकाले पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ। देवीलाई खुसी पार्न सात्विक भावले आफूभित्रको पाशविक प्रवृत्तिलाई बलि दिनु नै उपयुक्त हुन्छ भन्ने कुरा नबुझेर नै पशुपन्छीको घाँटी रेट्ने कार्य भैरहेको हो कि ? तसर्थ शक्ति र साधनाको पर्व दसैंलाई हिंसारहित बनाउने कार्यमा लाग्नु पनि शक्ति प्राप्त गर्ने राम्रो उपाय हुनसक्छ। यसैगरी नवमीकै दिन नवदुर्गा देवीको स्वरूप मानेर नौवटी कन्यालाई यथाशक्ति पूजा गरी भोजन, वस्त्र एवं दक्षिणा अर्पण गरिन्छ। दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका-जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ। त्रेता युगमा यसै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको प्रसङ्ग आउँछ। यसका लागि रामले नारदको उपदेशबाट नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र दसौं दिन रावणमाथि विजय पाएको कथा प्रचलित छ। यसरी रावणमाथि रामले विजय पाएको हुनाले यस दिनलाई विजया दशमी अर्थात् बडा दसैं भनिएको हो। महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्म जन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने सद्विश्वासकै कारण शक्ति र साधनाको पर्व दसैं मनाउन थालिएको हो। सबै शक्तिपीठमा प्रतिपदादेखि देवीको पूजा हुने भए पनि कुनै कुनैमा दशमीका दिन र त्यसपछि क्रमिक रूपमा कोजाग्रत पूणिर्माका दिनसम्म विसर्जन गर्ने परम्परा छ। अधिराज्यका कतिपय भागमा विजया दशमीको दिन मात्र टीका लगाउने चलन देखिए पनि कतै-कतै आफ्नो परम्पराअनुसार दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ।

This image has an empty alt attribute; its file name is Dashain.jpg

दसैं विशेष गरी नारी जातिको महिमा गाइने पर्व हो। ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् मानव सभ्यताको सुरूदेखि नै जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्ने विश्वास छ

दशैमा दिईने आशिर्वाद

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थः द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, भगवान् रामले जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानझैँ गतिशील, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्ण जस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनले आशिर्बाद दिने संस्कृति छ।

ॐ जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी। दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते। अर्थात्ः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

यो वर्षको दशै को टीकाको शुभ साइत असोज २१ गते बिहान १०:३५मा रहेको छ ।बडा दशैं हाम्रो संस्कृति हो। यथासक्य स्वस्थ र मर्यादित पर्व मनाउनु हाम्रो कर्तव्य पनि हुन जान्छ ।बढी भड्किलो र खर्चिलो भन्दा पनि सम्मान र माया आदानप्रदान गर्नेमा पर्वलाई केन्द्रित गर्नु पर्छ । सृजनशील र रचनात्मक शैलीमा मनाईने चाडबाडले समाजलाई जोड्ने र सकारात्मक उर्जा प्रदान गर्दछ। सबैमा सुस्वास्थ्य, दिर्घायु, र समृद्धिका लागि विजय दशमी बाट आशिर्बाद मिलोस ।शुभकामना ।