चितवनकाे उपनिर्वाचन भव्य रूपमा सकियाे, ७५.९७ प्रतिशत मतदान

Posted by

२०७६, १४ मंसिर शनिबार चितवन : चितवनको दुई वटा स्थानीय तहका तीन वटा वडामा रिक्त रहेको वडा अध्यक्षको पदका लागि भएको निर्वाचनमा करिब ७५.९७ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको जानकारी अनुसार तीन वटा वडामा १० हजार ९२ मतदान भएको हो । तीन वटै वडामा जम्मा १३ हजार दुई सय ८४ मतदाता रहेका थिए । 

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा ६ हजार दुई सय ५० भोट खसेको छ । त्यस्तै खैरहनी नगरपालिका वडा नम्बर ४ मा दुई हजार एक सय ७२ तथा वडा नम्बर ५ मा एक हजार ६ सय ७० भोट खसेको जनाइएको छ । भरतपुर १६ मा आठ हजार चार सय ८१ मतदाता रहेका थिए भने खैरहनी ४ मा दुई हजार ६ सय ९२ तथा ५ मा दुई हजार एक सय ११ मतदाता रहेका थिए । चितवनमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । उपनिर्वाचनका लागि तीन वटै वडाको सुरक्षा व्यवस्था मजबुत पारिएको थियो । तीन वटै वडामा तीन तहको सुरक्षा व्यवस्था लागू गरी सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।