चितवनका कोरोना सङ्क्रमित २७ वर्षे युवा उपचारपछि आज डिस्चार्ज हुँदै, भरतपुरका २४ नमुना परीक्षण नेगेटिभ

Posted by

चितवन, १३ शनिबार, वैशाख :
चितवन राप्तीका कोरोना सङ्क्रमित २७ वर्षे युवा उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएका ती युवाको दोस्रोपटक गरिएको स्वाबको नमुना परीक्षणको नतिजा पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने प्रक्रिया पुगेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभएको छ । आज बिहान १० बजे उनको उपचारमा संलग्न चिकित्सकहरुको टोलीको बैठक बसेर डिस्चार्ज गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने उहाँले जानकारी दिनुभएको छ। 

यसैबीच भरतपुर स्थित कोरोना परीक्षण प्रयोगशालामा शुक्रबार परीक्षण गरिएका २४ वटामध्ये सबै नमुनाको नतिजा नेगेटिभ आएको छ । शुक्रबार साँझ भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले फेसबुक लाइभमार्फत यस्तो जानकारी दिनुभएको छ। प्रयोगशालामा शुक्रबार जम्मा २४ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये भरतपुर अस्पतालमा कोरोना सङ्क्रमण भएर उपचार गरिरहेका २७ वर्षे युवाको दोस्रो परीक्षण पनि नेगेटिभ आएको छ । 

शुक्रबार भरतपुर अस्पतालबाट ५ वटा, भरतपुर कोरोना अस्थायी अस्पतालबाट ९ वटा, सी एम सी अस्पतालबाट ४ वटा र रत्ननगर स्थित गुञ्जमान सिँह अस्पतालबाट ६ वटा नमुना संकलन गरिएको थियो ।