चितवनको पर्यटकीय नगरी पटिहानीबाट पोखरासम्म पर्यटकीय बस सेवा सञ्चालन

Posted by

चितवन, शुक्रबार असोज १०-

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी चितवनको पर्यटकीय नगरी पटिहानीबाट पोखरासम्म पर्यटकीय बस सेवा सञ्चालन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. २२ मा पर्ने पटिहानीदेखी पोखरासम्म चल्ने बस सेवाको पूर्वअर्थमन्त्री एवम् चितवन क्षेत्र नं.१ का सांसद सुरेन्द्रप्रसाद पाण्डेले उद्घाटन गरे ।

देशको तेस्रो पर्यटकीय गन्तब्यका रुपमा चितवन र दोस्रो पर्यटकीय केन्द्रका रुपमा पोखरालाई जोड्ने हिसावले बस सेवा सुरु गरिएको वडा नं. २२ का वडाध्यक्ष बिष्णुप्रसाद महतोले जानकारी दिए । पटिहानीलाई सौराहा पछिको दोस्रो पर्यटकीय गन्तब्यका रुपमा लिने गरिन्छ ।

कसरा ट्राभलले सुरु गरेको बस हरेक दिन पोखराबाट विहान ७ बजे पटिहानीका लागि छुट्ने छ भने, अर्को बस पटिहानीबाट सोही समयमा पोखराका लागि छुट्ने छ । कसरा ट्राभल्सका दुईवटा बस अहिले काठमाण्डौं पटिहानी दैनिक अप डाउन गर्छन् । बसको सिट क्षमता ३८ छ । वडा नं. २२ का वडाध्यक्ष महतोले पोखरा र पटिहानीका कनेक्टिभिटीलाई बढाउन बस सेवा सुरु गरिएको जानकारी दिए । पोखरा आउने पर्यटकहरुलाई पटिहानी ल्याउन र पटिहानीमा भएका पर्यटकलाई पोखरा लैजान तथा पर्यटकहरुको बसाईलाई लम्बाउन बस सेवा प्रभावकारी बन्ने उनले बताए ।

पटिहानीमा पब्लिक प्राइभेट पार्टनरसीपमा सानो आकारको बसपार्क सञ्चालन गर्ने तयारी पनि अघि बढेको छ । त्यसका लागि दुई बिघा जग्गाको चाजोपाँजो मिलाउने काम भएको उनले बताए । महानगरपालिका, वडा र निजी होटल व्यवसायीको संयुक्त लगानीमा सवारी साधानहरु समेत राख्न मिल्ने गरी बसपार्क बनाइने उनले जानकारी दिए । अब छिट्टै पटिहानीबाट लुम्बनी र लुम्बनीबाट पटिहानी जोड्ने गरी अर्को बस सेवा पनि सञ्चालन गर्ने योजना रहेको महताले बताए ।

पटिहानीमा बार्षिक ७० देखि ८० हजार पर्यटक आउँछन् । अघिल्लो बर्षभन्दा गत बर्ष २५ प्रतिशतले पर्यटक बढेको व्यवसायीहरुको भनाइ छ । यहाँ ८ बटा ठूलो, दुई दर्जना मझौला होटल छन् ।