चितवनबाट बिदा भए एसपी राठौर

Posted by

चितवन, १५ जेठ । करिब एक वर्षको कार्यकाल सकाएर चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौर सरुवा भएका छन् । राठौरको महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकामा सरुवा भएको हो ।
सरुवा भएर जाँदै गर्दा आफूले गरेका कामकारबाहीको बारेमा जानकारी गराउँदै राठौर यहाँका नागरिकसँग रुष्ट भएका छन् । विशेष गरी मानब बेचबिखन तथा बलात्कारजस्ता घटनालाई नबुझी उजुरी लिन दबाब दिने गरेको भन्दै राठौरले असन्तुष्टि जनाएका हुन् । ‘केटाकेटी प्रेममा परेर घर छोडेर टाढा गएर खुसीसाथ बसिरहेका हुन्छन्’ राठौरले भने, –‘असन्तुष्ट पक्षले आफ्नो छोरी अपहरणमा प¥यो भनेर उजुरी दर्ता गराउन ल्याउने प्रचलन बढेको छ ।’
केटाकेटीले सहमतीमा शारीरिक सम्बन्ध राख्ने गरेका उल्लेख गर्दै पछि सम्बन्धमा फाटो आउँदा बलात्कारको मुद्दा हाल्ने प्रचलन बढेको राठौरले बताए । ‘घटनाक्रम बुझ्दा खेरी केटा र केटीले राजीखुसी भएर शारीरिक सम्बन्ध राखेका हुन्छन्’ राठौरले भने, –‘उनीहरुबीचमा मनमुटाब उत्पन्न भएपछि केटी पक्षले विभिन्न डिमाण्ड राख्ने र पूरा नभएमा बलात्कारको घटना दर्ता गराउने प्रचलन बढ्दै गएको छ ।’ यस्ता खालका घटनाले समाज विकृती तर्फ उन्मुख हुँदै गएको राठौरले बताए ।
केटाकेटीले प्रेम विवाह गरेर गएका घटनामा मानव बन्धक, हराएको, मानव बेचखिनको जस्ता निवेदन बनाएर उजुरी दर्ता गर्न आउने गरेको भन्दै राठौरले यस्ता घटनाले प्रहरीलाई राम्रोसँग काम गर्न नदिएको बताए । ‘सबै कुरा थाहा हुँदा हुँदै पनि आफ्ना सन्ततीको सम्बन्धमा चित्त नबुझेपछि अभिभावकहरुले प्रहरीमा उजुरी ल्याएर मुद्दा दर्ता गर्न दबाव दिने गरेका छन्’ राठौरले भने, –‘तत्काल उजुरी दर्ता नभएमा अधिकारकर्मी तथा आफन्तहरु ल्याएर उजुरी दर्ता गर्न दबाब दिने घटना बढेको छ ।’
राठौरले चितवनमा भएका सबै खालका अपराधिक घटनाका दोषीहरुलाई पक्राउ गर्न सक्नु आफ्नो सफलता भएको बताए । आफ्नो चितवनको बसाईँमा चितवन शान्त राख्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । चितवनको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रहरी उपरीक्षक दानबहादुर मल्ल चितवन आएका छन् ।
उनी प्रहरी निरीक्षक हुँदा चितवनमा बसेर काम गरेको अनुभव छ । केही समय नेकपाका अध्यक्ष प्रचण्डका अङ्ग रक्षकको भूमिकामा रहेका मल्ललाई चितवनको प्रहरी प्रमुखको भूमिका फलामको चिउरा जस्तै हुने राजनीतिक विश्लेषकहरु बताउँछन् । उनको जनतासँग खासै नजिकको सम्बन्ध नभएकाले मल्ललाई चितवन गाह्रो हुने बताइएको छ ।