चितवनमा चुनावी माहोल ह्वात्तै बढ्यो, ३ दिनदेखि प्रचण्ड लागे चुनावी प्रचारमा

Posted by

चितवन शिवनगर
दोस्रो चरणमा निर्वाचन हुने चितवनमा मनोनयन दर्तासँगै चुनावी माहोल एक्कासी बढेको छ। राजनीतिक दलका नेताहरु अहिले गाउँगाउँ गएर चुनावी प्रचार अभियान सुरु गरेका छन्। मुख्य गरी वाम गठबन्धन र कांग्रेसमा आबद्ध राजनीतिक दलको सक्रियता भने बढी देखिएको छ। अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको उपस्थिति भने न्यून देखिन्छ। वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर तीनमा उम्मेदवार दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’समेत जिल्लामा तीनदिनदेखि चुनावी प्रचार अभियानमा छन्। प्रचारका क्रममा उनले स्थायी शान्ति र देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै त्यसैलाई पूरा गर्न चितवनका जनतामा आइपुगेको बताए। उनका प्रतिस्पर्धी राप्रपा–प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेसमेत चुनावी प्रचार अभियानमा छन्। केन्द्रीय नेताहरु उठेकाले चिनवन क्षेत्र नम्बर तीनमा धेरै चासो र चर्चाको विषय बनेको छ। तीनवटा क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन्। यता, लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा राजेन्द्र बुर्लाकोटी र क्षेत्र नम्बर २ मा शेषनाथ अधिकारीको उम्मेदवारी छ। सबै नेताहरु अहिले चुनावी प्रचार अभियानमा गाउँगाउँमा छन्। गठबन्धनको निर्वाचन परिचालन कमिटीले के गर्छ? नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) चितवनले २१ मंसिरको निर्वाचनका लागि माओवादी केन्द्रका नेता अमिक शेरचनको नेतृत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर प्रचार अभियान थालेको छ। समितिको उपसंयोजकमा एमालेका नेता कृष्णप्रसाद खनाल र देवी ज्ञवाली तथा माओवादी केन्द्रका नेता नारायण दाहाल र सूर्य सुवेदी छन्। समितिमा दुई पार्टीका २ सय ५० जना रहने र ३५ सदस्यिय सचिवालय समिति बनाइएको छ। पार्टीको संयुक्त भेलाले दुवै पार्टीका जिल्ला इन्चार्ज संयोजक रहने गरी पार्टी एकीकरण संयोजक समितिसमेत गठन गरेको जनाएको छ। जसअनुसार संयोजकमा एमालेका जिल्ला इन्चार्ज कृष्ण खनाल र माओवादी केन्द्रका इन्चार्ज ईश्वरी भट्टराईलाई तोकिएको छ। समितिको सदस्यहरुमा एमालेका कृष्ण खनाल, तेजेन्द्र खड्का, पार्वती रावल, तथा माओवादी केन्द्रका ज्ञानु बस्नेत र घनश्याम दाहाल छन्। वाम गठबन्धनलाई विजयी गराउन समितिले सबैलाई आव्हानसमेत गरेको छ।