चितवनमा पर्यटन दिवसको अवसरमा नारायणगढदेखि पटिहानीसम्म साइकल र्‍याली

Posted by

चितवन, आइतवार, असोज ११-

चितवनमा आन्तरिक तथा बाह् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज नारायणगढबाट पटिहानीसम्म साइकल र्‍याली गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवन तथा साइकल राइडर्स क्लबको आयोजनामा आज विश्व पर्यटन दिवस–२०२० को अवसरमा सो र्‍याली गरिएको हो । उद्योग वाणिज्य संघ नारायणगढबाट सुरु भएको र्‍याली भरतपुरको गणेशथान बाइपास रोड हुँदै जखडीमाई साइकल ट्रेलबाट, गोन्द्राङ, राइनो ताल, बिसहजारी ताल र छितामाई हुँदै पटिहानी पुगेको थियो । र्‍यालीमा ४० जनाको सहभागिता रहेको थियो ।

जंगलको बाटो हुँदै छितामाई पुगेर चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, साइकल राइडर्स क्लबका उपाध्यक्ष पदमबहादुर बानिया र पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले छितामाई साइकल ट्रेलको संयुक्तरुपमाउद्घाटन गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले पर्यावरण जोगाउने, पर्यटन प्रवद्र्धन र साइकल चढेर शारीरिकरुपमा स्वस्थ बन्नको लागि ¥यालीको आयोजना गरिएको बताउनुभयो । उहाँले कोरोनाको महामारीबाट व्यापार, व्यवसायलगायत सम्पूर्ण आर्थिक गतिविधि धरासायी भएकोले साइकल पर्यटनबाट भए पनि केही आशा जगाउने प्रयास गरिएको बताउनु भयो ।

कार्यक्रममा चितवन साइकल राइडर्स क्लबले चितवनमा साइकल सिटीको अवधारण ल्याई सोही अनुसार पूर्वाधारहरु बनाउन माग गरेको छ । त्यस्तै क्लबले चितवनमा साइकल मार्ग निर्माण गरी साइकल पर्यटनको विकास गर्न र साइकलसँग सम्बन्धित विधिन्न प्रतियोगिताहरु राख्न ८ बुँदे माग पत्रसहित स्थानीय तह, उद्योग वाणिज्य संघमा माग राखेको छ । साइकल ट्रेल उद्घाटन कार्यक्रममा राप्ती तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपिल घिमिरेले सबै साइकल यात्रीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको प्रवद्र्धकको रुपमा पटिहानी उपभोक्ता समिति, राप्ती तटीय क्षेत्र सरसफाइ अभियान र बेलसर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति रहेका थिए ।