चितवनमा बाघ गैँडा संरक्षण पाठशाला सुरु

Posted by

माघ ९, २०७७
चितवन । बाघ र गैँडा जोगाउने सम्वन्धी शिक्षा सिकाउन भन्दै चितवनको भरतपुर १३ स्थित गंगानगरमा पठनपाठन सुरु गरिएको छ । यसो भनिरहदा यो एक दिने पठनपाठन स्कूलको बालवालिकालाई नभई तीनका बाबुआमालाई लक्षित गरी सुरु गरिएको हो ।राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान मध्यवर्ती क्षेत्र चितवनले गैँडा बाघ बाट आफूहरु जोगिदै तीनीहरुलाई जोगाउन कसरी सम्भव होला भन्ने विषयमा उक्त शिक्षामूलक कार्यक्रम सुरु गरेको हो ।सो संस्थाले भरतपुर १३ गंगानगरमा रहेको बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरु तथा विपन्न वर्गहरुलाई लक्षित गरी उक्त एक दिने पाठशाला सुरु गरेको हो । साथै संस्थाले यो सहित ३२ वटा विभिन्न स्थानमा उक्त पाठशाला कार्यक्रम संचालन गर्ने भएको अध्यक्ष अपिल घिमिरेले जानकारी दिए।बाघ गैँडा संरक्षण पाठशाला नाम दिएर सुरु गरेको उक्त अभियानमा जंगलभित्र अत्यावश्यक कामका लागि प्रवेश गर्नुपर्ने वर्गलाई लक्षित गरी त्यस क्षेत्रमा रहदै चर्दै आएका वन्यजन्तुहरुबाट आफू कसरी सुरक्षित रहन सकिन्छ भन्ने शिक्षा प्रदान गरिएको थियो ।कार्यक्रममा स्थानीय ६५ जना उपभोक्ताहरुलाई संरक्षण सम्बन्धी शिक्षा प्रदान गरिएको हो।कार्यक्रमका संयोजक एवम संस्थाका अध्यक्ष घिमिरेका अनुसार राष्ट्रिय निकुञ्जसँग दैनिक सम्पर्क भइरहनुपर्ने स्थानीय र मध्यवर्ती क्षेत्रका बासीन्दालाई प्राथमिकतामा राखेर विषयविज्ञहरुबाट स्थानीयलाई शिक्षा प्रदान गर्ने गरी पाठशालाको सुरुवात गरिएको हो ।शुक्रबार भएको पहिलो पाठशालामा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका प्रमुख डा। बाबुराम लामिछानेले बाघ र गैँडाले कस्तो अवस्थामा आक्रमण गर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा पढाएका थिए । उनले जंगल जाँदा स्थानीयहरुले के के कुरामा ध्यान दिने भन्नेबारेमा प्रष्ट पारेका थिए ।एक्लै जंगल प्रवेश नगर्न, मोवाईल तथा संचारका साधन प्रयोग गर्न, बन्यजन्तु देखीहालेमा चुपचाप रही सुरक्षित दूरीमा रहन उनले सुझाएका थिए । साथै कुनैपनि चराचुरङ्गीको गुण वा प्वालमा नजान र नविगार्न समेत सिकाएका थिए । जंगल प्रवेश गर्दा कुनैपनि हालतमा आगोबाल्न प्रयोग गरिने सामाग्री नबोक्न, हातमा एउटा लाठी बोक्न र धुम्रपान नगर्न बताएका थिए ।जंगली जनावर हामीलाई कुनैपनि अर्थमा चाहिने भएको प्रसंग जोड्दै उनले भने,“बाघको आहारा मानिस नभएको र कहिलेकाँही मात्रै हुने घटनाहरु दुर्घटना हो । ती दुर्घटना पनि मानव नै सचेत नहुँदा बढि जोखिम भएको देखिन्छ । तराई र चुरे क्षेत्रमा पाईने बाघका कारण अहिलेसम्म जंगल समेत संरक्षण भइरहेकोले केही दुर्घटनालाई मात्रै सम्झिएर नकरात्मक धारणा बनाउन हुँदैन।”डा लामिछानेले सन् २००७ देखि २०१६ सम्म चितवनका बाघ सम्बन्धी अध्ययन गरेका हुन् । अध्ययनबाट उनले घाइते तथा बुढो बाघले मात्रै मानिसलाई आक्रमण गर्ने अन्यथा आफ्नो निश्चित ठाउँमा बाहेक बाघले अन्यत्र दावी कसैलाई पनि नचलाउने बताए । साथै उनले बन्यजन्तुबाट जोगिने उपाय सम्बन्धीका पुस्तक पनि वितरण गरेका थिए ।बाघको मुख्य बासस्थान बेत बाँस रहेको र बेलसहरले ती बाँसहरु हुर्काएर संरक्षण गरिरहेको वनका अध्यक्ष चेतबहादुर रानाभाटले बताए । बाघको आक्रमणबाट उपभोक्ता सदस्यहरुले ज्यान गुमाउदा समेत पनि संरक्षणमा निरन्तर लागिरहेको उनको भनाई थियो ।

विशेषतः विश्वका १३ देशमा मात्रै बढिमा ४ हजार बाघ संख्या रहेको जनाइएपनि नेपालमा मात्रै २३५ वटा बाघ रहेको तथ्याङ्कले देखाउँछ ।

यो समाचार खबरमुलुक डट कममा केपी शर्माले लेखेका छन् ।