चितवनमा भेला बैठक र विद्यालय संचालन नगर्न प्रशासनको निर्देशन, उल्लंघन गरे कारबाहीको चेतावनी

Posted by

चितवन, साउन २०, मंगलबार-

जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो ।

जिल्लामा केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य सङ्घसंस्थाले बैठक तथा भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न भनेको छ ।

निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । चितवनका सातवटै स्थानीय तह, जिल्ला सहकारी सङ्घ, शिक्षा विकास तथा समन्वय एकाइ र विभिन्न सङ्घसंस्थालाई प्रशासनले सूचना पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ । चितवनमा कोरोनाको जोखिम कायमै रहेको भन्दै तत्काल विद्यालय पनि संचालन नगर्न निर्देशन दिएको हो । जिल्ला भित्रका केही शैक्षिक संस्थाहरुले शैक्षिक गतिविधि संचालन गरेको प्रति ध्यानकर्षण भएको जनाउँदै शैक्षिक गतिविधि एवंम पठनपाठन कार्य अविलम्ब रोक्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ ।रासस