चितवनमा रेलको प्रतिक्षा : पूर्वपश्चिम रेल मार्गको ९४५ किमी मध्ये ९३.६ किमी निर्माण

Posted by

काठमाडौँ, जेठ १४-

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलब ६ किमी निर्माण सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७५\७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलब ६ र जोगबनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ ।

यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो–नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । खोकना–सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण सुरु भएको जनाइएको छ ।

चीन सरकारको सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ । भारत सरकारको सहयोगमा वीरगञ्ज–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सुरु भएको छ । मेची–महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी छ । पूर्वपश्चिम रेलमार्ग चितवन हुँदै जाने छ । लिंक मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।
(रासस)