चितवनमा शिकार खेल्ने क्रम अझै रोकिएन, भरुवा बन्दुकसहित दुई जना पक्राउ

Posted by

चितवन, जेठ १२–

अवैध हातहतियारसहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर–२९ इन्द्रेणी सामुदायिक वनको डल्ले आहाल भन्ने स्थानको जंगल झाडीमा माटो मुनी लुकाई राखेको अवस्थामा घरेलु मेड भरुवा बन्दुक तीन थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले आज (आइतबार) पत्रकार सम्मेलन गरी पक्राउ परेका भरतपुर महानगरपालिका–२९ जुगेडीका ३५ वर्षीय सोमबहादुर गुरुङ र भरतपुर–२९ भोर्लाङका ३४ वर्षीय सूर्यबहादुर चेपाङलाई सार्वजनिक गरेको हो ।

यही जेठ १० गते भरतपुर–२९ इन्द्रेणी सामुदायिक वनमा शिकार खेल्ने क्रममा एक जना घाईते भएको जानकारी पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा दुई जनालाई सोही बनमा तीन थान भरुवा बन्दुक लुकाई राखेको अवस्थामा पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले गोलीको छर्रा लागेर घाईते भएको खुलेपछि थप अनुसन्धान बढाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए । उनले भने–“गोली नै चल्यो भन्ने जानकारी आएपछि सुक्ष्म अनुसन्धानमा जुट्यौं, सोही बनमा तीन थान भरुवा भेट्टाउन सफल भयौं ।” उनले दुई वटा बन्दुकमा छर्रा भएको र एउटा पड्किएर खाली अवस्थामा रहेको भेटिएको बताए ।

यही जेठ १० गते भरुवा बन्दुक पड्किएर घाईते भएका भरतपुर–२९ जुगेडी बेलटाँडीका ३९ वर्षीय सुकबहादुर चेपाङको शिक्षण अस्पताल काठमाडौंमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जना बन्दुक लिएर सिकार खेल्न जाँदा पड्किएको बताएको छ । पक्राउ परेकोहरुका अनुसन्धान भईरहेको र उनीहरुलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।

चितवनका सामुदायिक बनहरुमा बदेल, जरायोलगायत जनावर मार्न शिकार खेल्ने गरेको प्रहरीले जनाएको छ ।