चितवनमा सकियो रोपाइँ, धानको क्षेत्रफल बढेन : ज्ञान केन्द्र

Posted by

साउन १५, २०७७ बिहिबार भरतपुर । चितवन जिल्लामा यसवर्षको रोपाइँ लगभग सकिएको छ । यसवर्ष मनसुन सक्रिय भएका कारण साउनको दोस्रो हप्तामै रोपाइँ पूरा भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।
ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्षको तुलनामा यसपटक छिटो रोपाइँ भएको हो । विगतका वर्षहरुमा भदौसम्म पनि रोपिने यहाँका खेतहरु यसवर्ष असारमै सकिएका थिए । ‘साउनको पहिलो हप्तामै लगभग रोपाइँ पूरा भएको थियो, छिटपुट पनि साउनको दोस्रो हप्तामा पूरा भयो’, कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले भने ।
प्रमुख ढकालका अनुसार यसवर्ष चितवनमा असार महिनामा झन्डै ८० प्रतिशत रोपाइँ भएको थियो । बाँकी २० प्रतिशत साउन लागेपछि पूरा भएको ज्ञान केन्द्रको भनाइ छ । समयमै रोपाइँ भएका कारण यसपटक धानको उत्पादन पनि बढ्ने अनुमान गरिएको थियो, तर पछिल्लो बाढीले उत्पादन बढ्न सक्ने संकेत देखिएको छैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले यसवर्ष रोपाइँ छिटो हुनुका साथै क्षेत्रफल पनि बढ्ने अनुमान गरेको थियो । ज्ञान केन्द्रका प्रमुख ढकालले धानको क्षेत्रफल बढ्न नसक्ने बताउँछन् । पछिल्लो समय चितवनमा बर्सेनि केराखेती, तरकारीखेतीलगायत अन्य खेती बढेको हुनाले धानको क्षेत्रफल बढ्न नसकेको ज्ञान केन्द्रले जनाएको छ ।
लकडाउनका कारण तरकारी नबिकेपछि किसानले तरकारी छोडेर यसपटक धान रोपाइँ गरेका छन्, जसका कारण धानको क्षेत्रफल बढ्ने अनुमान गरिएको थियो ।
उत्पादन बढ्ने अनुमान
यसवर्ष चितवनमा किसानले छिटो धान रोपेका छन् । धेरै धान फल्ने एक सूचकमध्ये छिटो रोपाइँ पनि एक हो । विगतका वर्षहरुमा खडेरी परेका कारण कृषकले बूढो बीउ रोप्थे, जसका कारण उत्पादन पनि कम भइरहेको थियो । यसपटक समयमै तन्नेरी बीउ रोप्ने अवसर मिलेको हुनाले धानको उत्पादन बढ्ने अनुमान गरिएको हो ।
चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० हेक्टर रहेको छ । त्यसको २१.२ प्रतिशत अर्थात् ४६ हजार ८९७ हेक्टर कुल खेतीयोग्य जमिन छ । सोमध्ये हाल करिब ४४ हजार २९१ हेक्टर जमिनमा खेती भएको छ । खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी ७२.७ प्रतिशतमा सिंचाइ पुगेको छ । गत वर्ष २७ हजार ४४५ हेक्टरमा बर्खे धान र चैते धानको खेती भएको थियो ।
ज्ञान केन्द्रका प्रमुख ढकालले भने, ‘गत वर्षकै हाराहारीमा धानको क्षेत्रफल रहेको छ, क्षेत्रफल नबढे पनि उत्पादन बढ्न सक्छ ।’